add

६ वर्षीया बालिका हत्या प्रकरणःप्रहरीको गोली लागी घाइते भएका न्यौपानेको मृत्यु






ActPro Nepal

|

१० मंसिर, २०७७

|
626

महाेत्तरी। महोत्तरीको बर्दिवास फेरि आन्दोलित भएको छ। मंगलबार प्रहरीको गोली लागी घाइते भएका बर्दिवास-१ का बुद्धिराज न्यौपानेको उपचारका क्रममा काठमाडौंस्थित ग्राण्डी अस्पतालमा मृत्यु भएको खबरले यहाँ आज फेरि आन्दोलन चर्केको हो।

सञ्जय उपनामले चिनिने न्यौपाने हिजो मंगलबार बर्दिवासचोकमा प्रदर्शन गरिरहेकाहरूलाई तितरबितर पार्न प्रहरीले चलाएको गोली लागी घाइते भएका थिए।

तत्काल हेलिकोप्टरबाट काठमाडाैं लगिएका न्यौपानेको मंगलबार राति मृत्यु भएपछि सो खबर फैलनासाथ आज बिहानैदेखि प्रदर्शनकारीले राजमार्ग, बजार र सबै व्यापारिक प्रतिष्ठान बन्द गर्दै प्रदर्शन जारी राखेका छन्।

न्यौपानेको मृत्युको परिवारजन र प्रहरीबाट पनि पुष्टि भइसकेको छ। बर्दिवासका चोकचोकमा अहिले टायर बालेर प्रदर्शन भइरहेको छ।

बर्दिवास–१४ का शहीद आलमकी ६ वर्षीया छोरी गुलवशा (गुलाव साह) खातुनको हत्या गर्ने दोषीलाई कडा कारबाहीको माग गर्दै मंगलबार भएको आन्दोलनमा भीड नियन्त्रण गर्न चलाएको गोली लागी न्यौपाने घाइते भएका थिए।

न्यौपानेसँगै घाइते भएका बर्दिवास–५ का श्याम कार्कीको भने काठमाडौंमै उपचार भइरहेको छ। अर्का लाठीचार्जबाट घाइते भएका मृतक बालिकाका आफन्त आफताव आलमको भने बर्दिवास–१४ स्थित शुभस्वस्तिक अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय बर्दिवासका प्रहरी नायव उपरीक्षक राजन चापागाईँले जानकारी दिए। 

आइतबार साँझ घर वरिपरिबाटै बेपत्ता भएकी बालिका गुलावको शव सोमबार मध्यरातमा घरनजिकैको झाडीमा बोरामा राखेर फालिएको अवस्थामा प्रहरीले फेला पारेको थियो।

बालिका अपहरण र हत्या घटना प्रकरणमा बर्दिवास–१४ शुभम बस्तीमा समेत घर भएका जिल्लाकै गौशाला नगरपालिका–५ का २६ वर्षीय अरुणकुमार साहलाई प्रहरीले सोमबार साँझ नै पक्राउ गरेको छ।

सोमबार साँझ स्थायी घर गौशाला-५ पुगेका साहले बाबुआमासँग बालिकालाई मारेर भागेको बताएपछि परिवारजनले नै उनलाई इलाका प्रहरी कार्यालय गौशाला पुर्‍याएर प्रहरीको जिम्मा लगाएका थिए। साहलाई बर्दिवास ल्याएर प्रहरीले उनैले देखाएको ठाउँमा सोमबार मध्यरातमा बालिकाको शव बरामद गरेको थियो।

सोमबार मध्यरातमा शव बरामद भएपछि दाेषीलाई सार्वजनिक ठाउँमा कारबाहीको माग गर्दै मंगलबार बिहानैदेखि प्रदर्शनमा उत्रेको भीडले पक्राउ परेका साहको बर्दिवास–१४ स्थित तीनतले घरमा आगजनी गरेका थिए। घटनास्थलमा प्रहरीको घेरा तोड्दै प्रदर्शनकारीले बालिकाको शव पूर्वपश्चिम राजमार्गमा लगेर चर्का नाराबाजी गरेका थिए।

प्रहरीले बालिकालाई बलात्कारपछि हत्या गरेको हुन सक्ने र यसको परीक्षण चाँडै गर्न आवश्यक भएको हुँदा शव परीक्षण गर्न अस्पताल लैजाने बताए पनि प्रदर्शनकारीले शव नदिने अडान लिँदै ढुङ्गामुढा गर्न थालेपछि प्रहरीले दर्जनौँ राउण्ड गोली फायर गरेको थियो। प्रहरीले चलाएको गोली लागेर न्यौपाने र कार्की घाइते भएका थिए।

मङ्गलबार प्रहरी जनशक्ति पर्याप्त भएका बेला भीड तितरवितर गर्न सामान्य बल प्रयोगबाटै स्थिति नियन्त्रणमा आउनसक्ने विकल्प प्रयोग नगरी गोली नै चलाइएको यहाँका सर्वसाधारण बताउँछन्। प्रहरीले भने शव नदिएर प्रदर्शनकारीले आफूहरूमाथि जथाभावी ढुंगामुढा हानेपछि बाध्य भएर गोली चलाउनुपरेको जनाएको छ।-रासस


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.