add

'देशको समग्र उत्पादन,रोजगारी वृद्धि र बैंकिङ्ग पहुँच विस्तार नै हाम्रो प्राथमिकता हो' -किरण कुमार श्रेष्ठ






ActPro Nepal

|

२० असोज, २०७८

|
1679

यहाँले आफ्नोे बैंकिङ करियरको शुरूवाती अवस्थाको बारेमा केही बताइदिनुहुन्छ कि ?

मेरो बैंकिङ्ग करिअर वि.सं. २०४३ सालमा नेपाल बैंक लिमिटेडबाट शुरु भएको हो । अर्थतन्त्रको आकार, प्रविधिको विकास, भौतिक पुर्वाधारको विकास तथा सर्वसाधारणमा वित्तीय ज्ञानको स्तर समेतका हिसाबले मैले करिअरको शुरुवातमा देखेको बैंक र हालको बैंकका बिचमा ठूलो अन्तर रहेको महसुुुस गरेको छु । त्यस समयको ढड्डा प्रणालीको बैंक र अहिलेको पूर्ण कम्प्युटराइज्ड बैंककोे सेवा सुविधामा अकल्पनिय भिन्नता छ । बैंकिङ्ग क्षेत्रमा रहेको प्रतिस्पर्धा, प्रविधिको प्रयोग, जनशक्ति जस्ता विषयहरुले शुरुवातको बैंकिङ्गमा कुनै प्रभाव पारेको देखिँदैन थियो । बैंकका शाखामा त्यो समयमा ग्राहक भन्दा बढि कर्मचारीहरु हुँदा समेत ग्राहकहरुलाई छिटो छरितो सेवा दिन हम्मेहम्मे पर्दथ्यो । बिना क्याल्कुलेटर लेजरका सम्पुर्ण हिसाब मिलान गर्नुपर्ने त्यो दिन र आज स्वचालित प्रणालीमा चल्ने बैंकहरु देख्दा नेपालको बैकिङ्ग क्षेत्रको यो दु्रत विकास प्रति मलाई खुशी लागेको छ ।

नेपालको बैंकिङ्ग बजारमा धेरै कमर्सियल बैंकहरू हुँदाहुँदै पनि राष्ट्रिय बाणिज्य बैंकप्रति आम नेपालीहरूको विश्वास दरिलो हुनुका कारणहरु के–के हुन सक्छन् ?

राष्ट्रिय वाणिज्य बैंक पूर्ण सरकारी स्वामित्व (९९.९७ %) भएको एकमात्र बैंक हो । सरकार भनेकै जनताको प्रतिनिधिमूलक संस्था हो । यसर्थ, सरकारको बैंक हुनुको नाताले आम जनताको यस बैंक प्रति पूर्ण विश्वास र भरोसा छ । सरकारी स्वामित्वको बैंक हुनुको नाताले यस बैंकको उद्देश्य मुनाफा आर्जन गर्नु मात्र नभई देशको समग्र उत्पादन, रोजगारी वृद्धि र बैंकिङ्ग पहुँच विस्तार नै हाम्रो प्राथमिकता हो । तसर्थ हामीले देशका ग्रामीण तथा दुर्गम क्षेत्रमा दशकौं देखि सेवा गर्दै आईरहेका छाँै भने सरकारका नीति तथा कार्यक्रमहरुलाई जनस्तर सम्म पुर्याउने काम समेत गरिरहेका छौं । सामाजिक सुरक्षा लगायत जनहितको क्षेत्रमा यो बैंक प्रतिवद्ध भई निरन्तर काम गरिरहेको छ । यसका अतिरिक्त हाम्रो पारदर्शी कार्यशैली, ब्याजदरमा तुलनात्मक रुपमा स्थिरता, ग्राहक प्रतिको सम्वेदनशिलता, ग्राहकमैत्री व्यवहार जस्ता कारणले पनि नेपाली जनताले यस बैंकलाई बढी विश्वास गरिरहनु भएको हुनुपर्छ ।

राष्ट्रिय वाणिज्य बैंकको देशभरको शाखासञ्जाल तथा सेवा विस्तार अवस्था के कस्तो रहेको छ ?

राष्ट्रिय वाणिज्य बैंकले हाल नेपालका ७ वटै प्रदेशका ७७ वटै जिल्लामा आफ्नो सेवा सञ्जाल विस्तार गर्न सफल रहेको छ । अहिले देशभर यस बैंकका २४७ शाखा कार्यालयहरु छन् भने २३५ एटिएम, ३९ वटा एक्सटेन्सन काउन्टर र ९८ वटा ब्रान्चलेस बैंकिङ सेवाहरु सञ्चालनमा रहेका छन् । त्यस्तै हाल यस बैंकमा स्थायी र करारमा गरी जम्मा २ हजार १ सय ८४ जना कर्मचारी कार्यरत रहेका छन् । एक सरकारी बैंक भएको नाताले र ग्राहकको वित्तीय आवश्यकतालाई सहज ढंगवाट पूरा गर्नका लागि राष्ट्रिय वाणिज्य बैंक सदैव तयार रहेको छ भने हामी यसै आ.व.को अन्त्य सम्ममा सम्पूर्ण ७७ वटै जिल्ला सदरमुकाममा आफ्ना शाखाहरु विस्तार गर्दै जम्मा शाखा संख्या २९१ पुर्याउने लक्ष्यका साथ अघि बढि रहेका छौं ।

राष्ट्रिय वाणिज्य बैंकको कुल चुक्ता पुँजी कति रहेको छ ? अहिले सम्ममा यस बैंकका ग्राहक संख्या कति सङ्ख्यामा रहनुभएको छ ?

हाल यस बैंकको चुक्ता पुँजी रु.९ अर्ब १८ करोड ४८ लाख रहेको छ । नेपालको बैंकिङ्ग क्षेत्रमा यस बैंकले लिएको स्थानका आधारमा बैंकको चुक्ता पुँजी तुलनात्मक रुपमा कम रहेको कारण आ.व. २०७७÷७८ देखि नै बैंकको चुक्ता पुंजी वृद्धि गर्ने योजना अगाडी बढाइएको छ । हालसम्म यस बैंकलाई विश्वास गरी करीब ३५ लाख जति ग्राहकले हामीसँग खाता खोली कारोबार गरिरहेका छन् । त्यस्तै करिब १४ लाख भन्दा बढी ग्राहकहरुले यस बैंकको मोबाईल बैंकिङ्ग सेवा प्रयोग गरिरहेका छन् ।

राष्ट्रिय वाणिज्य बैंकले आफ्नो स्थापनाकाल देखी नै जनताको विश्वास जित्दै जनताको रोजाईको बैंक बन्दै आईरहेको छ । आजको दिनसम्म आईपुग्दा जनताको विश्वास जित्नका लागि राष्ट्रिय वाणिज्य बैंकले कस्ता–कस्ता कार्यहरुलाई बढी प्राथमिकतामा राख्दै आएको छ, संक्षेपमा बताईदिनुहोस् न ?

राष्ट्रिय वाणिज्य बैंक एउटा यस्तो बैंक हो, जसले बैंकिङ्ग क्षेत्रमा विभिन्न कालखण्डहरु पार गरेर हालको अवस्था सम्म आईपुगेको छ । शुरुवाती समयमा देशभर बैंकिङ्ग सेवाको विस्तार गर्दै सर्वसाधारणमा बैंकिङ्ग आदतको विकास गर्ने, निष्क्रिय रहेको निक्षेप संकलन गर्ने र कृषि, उद्योग, व्यापार व्यवसायलाई कर्जा सुविधा उपलब्ध गराउने उद्धेश्यले स्थापना भएको यो बैंकले देशमा बैंकिङ्ग तथा आर्थिक विकासमा ठूलो योगदान पुर्याउँदै आएको छ । सरकारको स्वामित्वमा स्थापना भई सर्वसाधारणलाई सजिलोसँग बैंकिङ्ग सेवा पुर्याउने भएकोले आम जनमानसमा यो बैंकप्रति गहिरो विश्वास रहेको छ । यस बैंकले विगतमा मात्र हैन वर्तमान समयमा समेत समयानुकुल बैंकिङ्ग सेवाहरु सरल र सहज रुपमा सर्वत्र उपलब्ध गराउँदै आएको कारण नै उच्च प्रतिष्पर्धा बीच पनि यस बैंकप्रति सर्वसाधारणको विश्वास र भरोसा उत्तिकै कायम रहँदै आएको हुनुपर्छ ।

नेपालको अर्थतन्त्रको समग्र अवस्थालाई यहाँले कसरी विष्लेषण गर्नुहुन्छ ?

अझै पनि नेपालको अर्थतन्त्र आफैंमा सानो आकारको छ । त्यसमा विभिन्न कारणले पछाडी परेको आर्थिक विकास र तिब्र गतिमा विकास भैरहेको बैंकिङ्ग क्षेत्र बीच सामञ्जस्यता हुन सकेको स्थिति देखिँदैन । अझ पनि हाम्रो अर्थतन्त्रका विविध पक्षहरुको विकास र प्रवद्र्धनको संभावना छ र आवश्यकता पनि छ । हामीसँग अझैपनि लगानी तथा आम्दानी वृद्धिका प्रशस्त सम्भावनायुक्त क्षेत्रहरु छन् । जसमा होटल तथा पर्यटन, कृषि, जलविद्युत, कृषि उपज प्रशोधन उद्योगहरु लगायत हुन सक्छन् । पर्यटनको प्रचुर सम्भावना भएतापनि यस क्षेत्रको उचित विकास हुन नसक्नु, कृषिप्रधान देश भएर पनि कृषि उपजको आयातको बढ्दो स्थिति कायम रहनु अर्थतन्त्रका लागि हानिकारक सावित भैरहेको छ, जुन कुरा बढ्दो व्यापार घाटामा प्रतिबिम्बित भएको छ । विपन्न तथा बेरोजगार युवाहरुको लागि सहूलियतपुर्ण कर्जा कार्यक्रमलाई विस्तार गर्ने, साना तथा मझौला व्यवसायको उत्थानका लागि उपयुक्त कर्जा लगानी नीति निर्माण गरी यस्ता क्षेत्रमा लगानीकर्ताहरुको आकर्षण बढाउन राज्यले समय सान्दर्भिक नीतिहरु तर्जुमा गर्नु आवश्यक ठान्दछु ।

यहाँसँग बैंकिङ्ग क्षेत्रमा निकै लामो काम गरेको अनुभव छ, यस आधारमा हाल नेपालको बैंकिङ क्षेत्रका मुख्य–मुख्य समस्या तथा चुनौतीहरु के–के रहेको ठान्नुहुन्छ ?

मेरो बैंकिङ्ग क्षेत्रको ३५ बर्ष लामो अनुभवका आधारमा भन्नुपर्दा पछिल्लो समयमा नेपालको बैंकिङ्ग क्षेत्रको द्रुत विकास भएको छ । बैंकिङ्ग क्षेत्रमा देखिएको प्रतिष्पर्धा र प्रविधिको बढ्दो प्रयोगसँगै यस क्षेत्रमा धेरै प्रकारका समस्याहरु पनि देखिएका छन् । सीमित बैंकिङ्ग बजारमा विभिन्न वर्गका बैंक तथा वित्तीय संस्थाहरु सञ्चालनमा रहँंदा अस्वभाविक प्रतिस्पर्धा सृजना हुन जान्छ । सीमित दक्ष जनशक्ति भएको नेपालको बैंकिङ्ग बजारमा क्षमतावान् कर्मचारीको लागि आपसमा प्रतिष्पर्धा हुने गरेको पनि देखिन्छ । प्रविधिको प्रयोगसँगै त्यसबाट उत्पन्न विविध जोखिमहरुले समेत समय–समयमा कतिपय बैंकहरु समस्यामा परेको खबर सुन्नुपर्छ ।

कोभिडबाट प्रभावित विभिन्न क्षेत्रहरूमा लगानी गरेका कर्जाको जोखिममुक्त तवरले भुक्तानीको लागि के–कस्तो पहलहरु गर्नुभयो ?

राष्ट्रिय वाणिज्य बैंक स्थापना कालदेखी नै ग्राहकहरुको हितलाई ध्यानमा राखि कारोबार गर्दै आएको एक पुरानो बैंक हो । अर्थतन्त्रमा समय–समयमा देखिने विभिन्न प्रकारका समस्या प्रति यो बैंक सदैव संवेदनशिल रहेको छ भने यसले ग्राहकको हित र सेवालाई सधै पहिलो प्राथमिकतामा राख्दै आएको छ । गत वर्षबाट शुरु भएको कोभिड–१९ को बिषम परिस्थितिमा पनि यस बैंकले आफ्ना ग्राहकहरुमा परेको असरलाई मध्यनजर गर्दै नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार सहुलियत दरमा रु.४ अर्ब १० करोड बराबरको रकम पुर्नकर्जा सुविधा अन्तर्गत प्रदान गरेको छ भने ग्राहकहरुलाई परेको असरलाई ध्यानमा राखी कर्जाको भुक्तानी अवधिमा लचकता, आवश्यकता अनुसार ब्यवसाय जिवन रक्षा कर्जा, व्यवसाय निरन्तरता कर्जा, ब्याजदरमा छुट तथा ब्याज भुक्तानीमा १० प्रतिशतको ब्याज छुट जस्ता धेरै किसिमका सुबिधाहरु प्रदान गरेको छ । प्रतिकुल परिस्थितिमा दिईएका सुविधा बाहेक बैंकले आफ्ना ग्राहकलाई भुक्तानी सहजताका लागि त्रैमासको अन्तमा बैंकको ब्याज तिर्ने ग्राहकलाई ब्याजदरमा ०.५ प्रतिशतको छुटको समेत व्यवस्था समेत गरेको छ ।

विश्वभर महामारीको रुपमा आएको कोभिड–१९ ले गर्दा नेपालको बैंकिङ क्षेत्र र वित्तीय क्षेत्रहरूमा पर्ने दुरगामी सकारात्मक एवं नकारात्मक दुवै प्रभावको बारेमा यहाँले केही बताइदिनुहोस् न ?

कोभिड–१९ नेपाली बैंकिङ्ग क्षेत्रका लागि पक्कै पनि सहज भने रहेन । बैंक तथा वित्तीय संस्थाहरु मानिस मानिसको प्रत्यक्ष सम्पर्कमा सेवा प्रवाह गर्ने संस्था भएकोले महामारीको यस्तो प्रकोपको समयमा ग्रहकहरुलाई सहज सेवा दिन त कठिन भयो नै, यस प्रकोपका कारण नकारात्मक असर परेका विभिन्न उद्योगहरु जस्तै होटल तथा पर्यटन, यातायात तथा उड्ययन, तथा अन्य उद्योगहरुमा समेत दूरगामी प्रभाव परेको छ ।


किरण कुमार श्रेष्ठ, प्रमुख कार्यकारी अधिकृत, राष्ट्रिय वाणिज्य बैंक लिमिटेड

प्रकोपको प्रत्यक्ष असरका कारण बैंक तथा वित्तीय संस्थाहरुको कर्जाको गुणस्तरमा कमी आएको छ भने महामारीका समयमाविभिन्न कर्जाहरुलाई पुनसंरचना गरिएका छन् । जसको व्यवस्थापन भावी समयमा कठिन हुन सक्ने र समग्र ग्रैह्र बैंकिङ सम्पत्ती बढ्न सक्ने स्थिति आउन सक्ने देखिन्छ । त्यसैगरी आगामी केही वर्षहरुमा बैंकहरुको आम्दानीमा गिरावट आउने र यसको प्रत्यक्ष प्रभाव बैंकको मुनाफामा पर्ने समेत देखिन्छ ।

नकारात्मकता मात्र नभई कोभिड १९ ले समस्त विश्व जगत तथा नेपालको बैंकिङ्ग क्षेत्रमा सकारात्मकता समेत ल्याईदिएको भने पक्कै छ । नेपाली बैंकहरु र नेपाली जनता प्रविधिमैत्री बनेको यो एक सम्झन योग्य समय बनेको छ । यस बीचमा भुक्तानी तथा बैंकिङ्ग सेवामा डिजिटल माध्यमको प्रयोगमा उल्लेख्य बढोत्तरी भएको छ । व्यावसायिक निरन्तरताका लागि वैकल्पिक माध्यमको उपाय अवलम्बन गर्नुपर्ने पाठ समेत सिकाएको छ । कोभिड १९ ले सेवा प्रवाह जस्तो प्रत्यक्ष ग्राहक सम्पर्क चाहिने प्रणाली समेत प्रविधिको उपयोग गरी भौतिक उपस्थिति बिना नै ‘वर्क फ्रम होम अवधारणा’ (घरबाटै सेवा) दिन सकिन्छ भन्ने मूल्यवान तरिका सिकाई दिएको छ ।

कोरोना महामारीले गर्दा सम्पूर्ण नेपालीहरूको जनजीवन अस्तव्यस्त बनाईदिएको छ, यो खालको महामारीले सबै क्षेत्रमा ठूलो आर्थिक मन्दी ल्याइदिएको छ । अबका दिनमा हामीले अवलम्बन गर्नुपर्ने नीति कस्ता हुनुपर्छ जस्तो लाग्छ यहाँलाई ?

पक्कै पनि गत वर्ष देखि नै सम्पूर्ण मानव जातिलाई नै आक्रान्त पार्ने यस कोभिड–१९ को प्रभावसँगै सन् २०२० मा विश्वको अर्थतन्त्र ३.२ प्रतिशतले संकुचन भएको तथ्य हामी सामु छ । कोभिड–१९ का कारण विश्वका महाशक्ति राष्ट्रहरुले समेत भोग्नु परेको नियति अझै ताजा नै छ । लामो समयदेखी यस महामारीसँग जुध्दै आएको विश्व अब के निष्कर्षमा समेत पुगेको छ भने कोभिड अब समस्या रहेन जीवनको पाटो समेत बन्न पुग्यो । सोहीबमोजिम यसलाई दैनिकीको रुपमा समेत अपनाउँदै अघी बढ्नुपर्ने स्थिति सृजना भएको छ । कोभिडको जघन्य प्रकोपबाट नेपाल पनि अछुतो रहेन, जसको नियन्त्रणका लागि सम्पुर्ण शक्ति सहित नेपालमा समय समयमा निषेधाज्ञा समेत भएको थियो जसले अर्थतन्त्रलाई निकै नोक्सान समेत पुर्याएको छ । तथापि अर्थतन्त्र भन्दा जनधन नै महत्वपूर्ण हुन्छ भन्ने कुरा हामीले बिर्सिनु हुँदैन । अब नेपालले पनि कोभिडलाई आत्मसाथ गर्दै अगाडि बढ्नुको विकल्प नरहेको आभास हुन लागेको छ । यसरी कोभिडलाई जीवनको पाटो तथा यसको प्रचण्ड प्रकोपबाट छुटकारा पाउनका लागि नेपाल सरकारले सजग भएर मध्यमार्गी बाटो अवलम्बन गर्नुपर्ने देखिन्छ ।

यसका लागि कोभिडबाट अति प्रभावित क्षेत्रहरुमा व्यवसायीहरु पलायन हुने सम्मको अवस्था भएकाले त्यस क्षेत्रका लागि छुट लगायत सहुलियत र संरक्षणात्मक नीति ल्याउनेपर्ने आवश्यकता समेत देखिन्छ । जसका लागि प्रकोपबाट अति प्रभावित उद्योगहरु जस्तै पर्यटन, यातायात तथा उड्ययन आदिका लागि सरकारद्वारा सहुलियत सम्बन्धी नीतिहरु यस्ता क्षेत्रमा केन्द्रित गरिएको अवस्था पनि छ । कोभिडबाट मध्यम प्रभावित उद्योगहरुको उत्थानका लागि ब्याज भुक्तानीका लागि समय सिमा दिई भुक्तानीमा लचकता अपनाई ब्याज भुक्तानीमा जोड दिईरहेका छौँ । त्यस्तै न्यून प्रभावित उद्योगहरुलाई केही वर्षका लागि करमा विषेश छुट दिई उत्थानका लागि सहयोग गर्ने नीति ल्याउन आवश्यक देखिन्छ । प्रकोपका समयमा पनि व्यवसायलाई निरन्तरता दिनका लागि क्षेत्रगत रुपमा व्यवसाय निरन्तरताका लागि योजना अगाडी बढाउनुपर्दछ ।

यसैगरी महामारीको असरलाई न्यूनीकरण गर्न दिर्घकालीन महत्वका नीतिहरु समेत अवलम्बन गर्दै जानु पर्दछ । सार्वजनिक सेवा प्रवाहमा सूचना प्रविधिको उच्चतम प्रयोगको नीति लिनु पर्ने, ई–गभर्नेन्सको दोस्रो तहमा रहेको नेपाललाई यथाशिघ्र तेस्रो तह अर्थात कारोवारको तहमा पुर्याउने नीति तथा व्यवस्था समेत लागु गर्न उपयुक्त हुने देखिन्छ । सेवामुखी उद्योगलाई चाहिने प्रविधिको खरिद तथा प्रविधिको प्रयोगमा बिषेश छुट तथा सहुलियतको नीति समेत प्रभावकारी हुन सक्दछ । त्यसैगरी नगद रहित सरकारी कारोवारमा अनिवार्यताको नीति लिएको खण्डमा समेत फलदायी हुन सक्छ ।

अबका दिनमा समग्र बैंक तथा वित्तीय क्षेत्रहरूले मुख्य ध्यान दिनुपर्ने कुराहरु के–के हुन सक्छन् ?

नेपालको बैंकिङ क्षेत्रले पेपर युग देखी कम्प्यूटर युग सम्मको अवस्था पार गर्ने क्रममा अग्रणि भूमिका खेल्ने सरकारी बैंकहरुको अवस्था एकदमै कमजोर हुँदा यसलाई लक्षित गरेर वित्तीय क्षेत्र सुधार कार्यक्रम समेत लागू भएका तथ्य हामी सामु नै रहेका छन् । त्यस्तै गरी हाल कोभिड–१९ का कारण अर्थतन्त्रका प्रायः सम्पूर्ण क्षेत्रहरु शिथिल रहेको अवस्था छ । यसरी यस क्षेत्रमा समय–समयमा विभिन्न समस्या देखा पर्दा यस क्षेत्रले धेरै ठूलो चूनौतिको सामना गर्दै आईरहेको छ । तसर्थ नेपालको बैंक तथा वित्तीय क्षेत्रले निम्न कुरामा ध्यान दिन आवश्यक रहेको छ ।

क. प्रतिस्पर्धी मात्र हैन, स्वस्थ प्रतिस्पर्धी संस्कृतिको विकास गर्दै बैंकिङ्ग क्षेत्रलाई अघि बढाउने ।

ख. नयां नयाँ प्रविधिको प्रयोग अपरिहार्य भईसकेको आजको समयमा, प्रविधि र प्रविधिजन्य जोखिम व्यवस्थापनका कुरालाई सँगसँंगै लैजाने ।

ग. अर्थतन्त्रका अन्य क्षेत्र र वित्तीय क्षेत्र बीच सामञ्जस्यता कायम गर्ने ।

घ. प्रविधिको प्रयोगबाट हुने जोखिम न्यूनिकरण गर्ने ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.