add

पढाइसँगै कृषिकर्ममा रमाउँदै आधारभूत विद्यालयका विद्यार्थी






ActPro Nepal

|

२७ वैशाख, २०८०

|
388

कैलाली । जानकी गाउँपालिका–२ स्थित जय पार्वती आधारभूत विद्यालयमा अचेल पढाइ मात्र हुँदैन, विद्यार्थी कृषिकर्ममा समेत संलग्न हुन्छन्।

गाउँपालिकाको ‘विद्यालय करेसाबारी कार्यक्रम’अन्तर्गत विद्यार्थीले पाँच कठ्ठा जमिनमा तरकारी खेती गरेका छन्। विद्यालयको हाताभित्र गरिएको तरकारी खेतीबाट विद्यार्थीमा कृषिप्रति उत्प्रेरणा दिँदै आधुनिक कृषि कर्म गर्ने अभिभावकलाई फाइदा पुग्ने लक्ष्य गाउँपालिकाले लिएको छ। 

विद्यालय तहबाटै कृषितर्फ विद्यार्थीको उत्प्रेरणा जगाउन गाउँपालिकाले नमूनाका रूपमा केही विद्यालयमा ‘विद्यालय करेसाबारी कार्यक्रम’ लागू गरेको हो। सोही कार्यक्रमअन्तर्गत विद्यालय करेसाबारी कार्यक्रमबाट आफूहरूले कृषिसम्बन्धी सैद्धान्तिक र व्यावहारिक सिकाइ गर्न पाएको विद्यार्थी बताउँछन्। विद्यार्थी सुरजा प्याकुरेल कृषिसम्बन्धी सिकाइ भइरहेको बताउँछिन्। 

‘हामीले बारीमा काम गर्न रुचि नै देखाउने गरेका थिएनौँ। घरमा आमाबुवाले बारीमा काम गर्दा हामीले कहिल्यै चासो दिएनौँ’, उनी भन्छन्, ‘अब विद्यालयमा पढाइ नै हुन थालेपछि सिक्न थाल्यौँ। अब घरमा अभिभावकलाई पनि तरकारी खेती गर्ने तरिकाबारे सिकाउँदैछौँ। बल्ल कृषि पनि पढाइ रहेछ भन्ने बुझ्न थालेका छौँ।’

कृषि पेशालाई व्यावसायिक बनाउन तथा कृषिमा दक्ष जनशक्ति उत्पादनका लागि अभिप्रेरणा दिन गाउँपालिकाले पालिकाभित्रका तीन सामुदायिक विद्यालयमा ‘विद्यालय करेसाबारी कार्यक्रम’ सञ्चालन गरेको छ। करेसाबारी कार्यक्रम सञ्चालन हुँदा आफूले विद्यालयमा सिकेको ज्ञानलाई घरमा आफ्ना आमाबुबालाई जानकारी गराउने गरेको कल्पना गिरी बताउँछिन्। 

‘तरकारी खेतीबारे सिकाइसँगै मिलेर काम गर्दा रमाइलो हुन्छ। हामी रमाउँदै खेती गर्न सिकिरहेका छौँ’, उनी भन्छिन्, ‘हामीले नयाँ प्रविधि र नयाँ अभ्यास सिकिरहेकाले अभिभावकलाई पनि सिकाउँछौँ।’

करेसाबारी कार्यक्रम सञ्चालन हुँदा विद्यार्थीलाई कृषिसम्बन्धी जानकारी पाउन सहज भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजु बम बताउँछन्। ‘विद्यालयमा करेसाबारी कार्यक्रमप्रति विद्यार्थी उत्साहित भएकाले अहिले विद्यालयमा पाँच कठ्ठामा तरकारी खेती गरिएको हो’, उनले भने, ‘विद्यालयको अतिरिक्त क्रियाकलापअन्तर्गत काम गराउँदा विद्यार्थीमा सिकाइ भइरहेको छ। यसले विद्यार्थीलाई विद्यालय र कृषि पेशामा हौस्याएको छ।’

३० हप्तासम्म करेसाबारी कार्यक्रम सञ्चालन हुनेछ। यसका लागि हप्तामा एक दिन कृषिसम्बन्धी पढाइ गर्दै व्यवहारिकरूपमा करेसाबारीमै काम सिकाइन्छ। कार्यक्रमअन्तर्गत विद्यालयमा लौका, करेला, तोरिया, बोडी र भिन्डी खेती गरिएको जानकी गाउँपालिकाका कृषि  प्राविधिक तेजराम चौधरीले बताए। 

‘एक विद्यालयमा न्यूनतम दुईदेखि पाँच कठ्ठामा अहिले खेती सञ्चालन गरिएको छ’, उनी भन्छन्, ‘यसरी विद्यालयमा विद्यालय करेसाबारीले विद्यार्थीमात्र नभई उहाँहरूको घरमा कृषि कर्ममा परिवर्तन भई घरको आर्थिक अवस्थामा सुधार ल्याउनमा मद्दत पुग्नेछ।’



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.