काठमाडौँ । कोभिड-१९ अर्थात् कोरोनाका कारण विश्वभर ३ हजारभन्दा बढी मानिसको मृत्यु भइसकेको छ।
केही दिनयता चीनभन्दा बाहिर यसको संक्रमण ९ गुणा बढेको बीबीसीले उल्लेख गरेको छ।
त्यस्तै, एयरपोर्ट हेल्थ डेस्कले साउदी अरेबियाबाट स्वदेश फर्किएका एक नेपालीमा कोरोनाको आशंका गर्दै त्रिभूवन विमानस्थलबाट सिधै टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल रिफर गरेको छ।
मंगलबार राति ९ बजे साउदीबाट नेपाल फर्किएका उक्त व्यक्तिको विमानस्थलस्थित हेल्थ डेस्कमा खटिएका स्वास्थ्यकर्मीले इन्फाइराइड थर्मामिटरबाट जाँच गर्दा उनीमा १०० डिग्री भन्दा बढी तामक्रम देखिएको हो।
तापक्रम बढी देखिने बित्तिकै उनलाई तत्काल नेपाल एम्बुलेन्स सर्भिसेजको एम्बुलेन्स प्रयोग गरी आइसोलेसनका लागि टेकु अस्पताल पठाइएको थियो।
मंगलबार मात्रै कुवेत र कतारबाट आएका थप दुईजना व्यक्तिमा कोरोनाको आशंका गर्दै हेल्थ डेस्कले टेकु अस्पताल रिफर गरेको थियो।
७० भन्दा बढी देशमा फैलियो
विश्व स्वास्थ्य संगठनका अनुसार अहिलेसम्म चीनसहित विश्वका ७० भन्दा बढी देशमा कोरोना संक्रमण फैलिसकेको छ।
उक्त भाइरसबाट ९० हजार मानिस संक्रमित भएको पुष्टि भइसकेको छ। तीमध्ये झन्डै ९० प्रतिशत संक्रमित चीनका छन्।
चीनबाहिर ८ हजार ८ सय जनामा कोरोना संक्रमण भएको डब्ल्यूएचओले जनाएको छ।
प्रतिक्रिया