दुर्गमका १२० घरधुरीलाई सौर्य ऊर्जा वितरण

दुर्गमका १२० घरधुरीलाई सौर्य ऊर्जा वितरण

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

म्याग्दी। विद्युत् सुविधाबाट वञ्चित म्याग्दीको धवलागिरि गाउँपालिकाका १२० घरधुरीलाई सौर्य ऊर्जा वितरण गरिएको छ। प्रदेश सरकारले उपलब्ध गराएको सौर्य ऊर्जा वितरण गरिएको गाउँपालिकाले जनाएको छ।

उज्यालो पालिका घोषणा गर्ने कार्यक्रमअनुसार केन्द्रीय लाइन विस्तार र लघुजलविद्युत् परियोजना नभएका दुर्गम बस्तीका घरधुरीमा सौर्य ऊर्जा वितरण गरिएको गाउँपालिकाका अध्यक्ष थमसरा पुनले जानकारी दिए। 

पचास वाट क्षमताको सोलार सेट वितरण गरिएको हो। वडा नं ६ मराङका २५ र वडा नं ४ मा पर्ने सिम्कोस, अर्चे, वारवाङ, नाउरा, जुरुकोष र छहरीका ९५ घरलाई सोलार सेट वितरण गरिएको हो। छुटेका घरधुरी पहिचान गरेर थप सोलार सेट उपलब्ध गराइने अध्यक्ष पुनले बताए।

२४ हजार रूपैयाँ मूल्य पर्ने सोलार जडान गर्न उपभोक्ताले चार हजार २७३ खर्च व्यहोरेका छन्। प्रदेश सरकारले २० वाट क्षमताको सोलार वितरण गर्ने योजना बनाएपछि पालिकाहरुको सुझावका आधारमा ५० वाटको वितरण गरेको हो।

यसैबीच धवलागिरि गाउँपालिकालाई उज्यालो पालिका घोषणा गर्ने तयारी भएको छ। केन्द्रीय प्रसारण लाइन, लघु जलविद्युत् परियोजना र सौर्य ऊर्जामार्फत विद्युतीकरण गरेर उज्यालो पालिका घोषणा गर्न लागिएको हो।

हालसम्म विद्युत् नपुगेको वडा नं ४ को मुदी र खाम्लामा केन्द्रीय प्रसारण लाइन पुगेपछि सरकारको मापदण्डानुसार धौलागिरिलाई उज्यालो पालिका घोषणा गर्न सकिने अध्यक्ष पुनले बताए।

उज्यालो पालिका घोषणा गर्न कुल घरधुरीको ८५ प्रतिशतमा केन्द्रीय, लघु जलविद्युत् र सौर्य ऊर्जाको पहुँच हुनुपर्ने सरकारको मापदण्ड छ। वडा नं ७ ताकममा पूर्ण र वडा नं ६ मराङमा आंशिक रूपमा केन्द्रीय लाइन पुगेको छ।

मराङ, मल्कवाङ, खिवाङ, मुना, दर, फलियागाउँ, लुलाङ, लमसुङ, खोरिया, गुर्जामा लघु जलविद्युत् परियोजनाको विद्युत् सुविधा छ। मुना, मुदी, खाम्ला, मराङ र मल्कवाङमा केन्द्रीय लाइन विस्तारको तयारीसमेत भएको छ।

पालिकाले गत वर्ष लुलाङको दरखोला दोस्रो लघु जलविद्युत् परियोजना पुनर्निर्माण र बगरमा सौर्य ऊर्जा जडान गरेको थियो।

चेचुङ गाउँमा पनि सौर्य ऊर्जाबाट विद्युतीकरण गरिएको छ। सात वटा वडा रहेको धवलागिरि गाउँपालिकामा कुल तीन हजार १२९ घरधुरीको बसोबास छ।

कूल घरधुरीको ९० प्रतिशतमा कुनै न कुनै प्रकृतिको विद्युत् सुविधा पुगेको गाउँपालिकाले जनाएको छ। यसैगरी जोखिमयुक्त काठका पोल विस्थापित गराउन प्रदेश सरकारले धवलागिरि गाउँपालिकालाई १५० र मङ्गला गाउँपालिकालाई ५०० थान फलामको पोल उपलब्ध गराएको छ।-रासस

Recent Comments

No comments to show.