ललितपुर महानगरकाे छड्के बजार अनुगमन, इटीटाेलका मासु पसल फाेहाेरयुक्त, ओैषधि पसलहरुमा समेत अनुगमन

ललितपुर महानगरकाे छड्के बजार अनुगमन, इटीटाेलका मासु पसल फाेहाेरयुक्त, ओैषधि पसलहरुमा समेत अनुगमन

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ललितपुर । ललितपुर महानगरपालिकाले छड्के बजार अनुगमनलाई तिव्रता दिएकाे छ। उपप्रमुख गीता सत्यालकाे नेतृत्वमा शुक्रबारबाट सुरु भएको बजार अनुगमन कार्यलाई महानगरले शनिवार र आइतबार पनि जारी राख्याे । 

महानगरले आइतवार मासु पसलहरु, ओैषधि पसलहरु र फलफुल पसलहरुकाे अनुगमन गरेको हाे , आइतबार लगनखेलकाे इटिटाेलमा गरिएको बजार अनुगमनका क्रममा अधिकाँश मासु पसलहरु मापदण्ड अनुसार सञ्चालन नभएको, फाेहाेर र दुर्गन्धित रहेकाे भेटिएको छ। मासु बिक्री गर्ने अधिकाँश पसलहरुले बिक्री स्थल सफा नराखेको, मासु,राख्ने फ्रिजहरु फाेहाेर युक्त र गन्हाउने राखेकाे, पसल वरिपरिकाे वातावरण दुर्गन्धित बनाएको भेटिएको छ । मासु पसलहरुमा अनुगमन गर्दा फाेहाेर जाने निकासकाे पर्याप्तता नरहेको, मासु विक्रेताले सफा र सेताे एप्राेन लगाउने नगरेको, हातमा ग्लाेव्स र मुखमा माक्स नलगाई मासु विक्री गर्ने गरेको पाइएको छ। इटिटाेलका मासु काट्ने बधशाला समेत सफा र मापदण्डअनुसार नभएको पाइएको छ।  आइतबार इटिटाेलका ११ वटा मासु पसलहरुकाे अनुगमन गर्दा यस्तो भेटिएको हाे । मापदण्ड पूरा नगरेका ती मासु पसलहरुलाई तत्कालै साफा सुग्घर गरेर मासु बिक्री गर्न र ७ दिन भित्र सबै मापदण्ड पूरा गरेर पसल सञ्चालन गर्न निर्देशन दिइएको पशु चिकित्सक राजेन्द्र विष्टले वताए । 

त्यस्तै महानगरले आइतबार ओैषधि पसलहरुकाे समेत अनुगमन गरेकाे छ। उपप्रमुख सत्यालकाे नेतृत्वमा सामान्य प्रशासन महाशाखा प्रमुख श्रीभद्र ओझा, जनस्वास्थ्य अधिकृत डिल्लीशेर केसीलगायतको टाेलीले महानगरका विभिन्न स्थानहरुका ओैषधि पसलहरुकाे अनुगमन गरेको हाे। 

ओैषधि पसलहरुकाे अनुगमनका क्रममा नगरपालिकामा व्यवसाय दर्ता रहेकाे तर नविकरण नभएको पाइयाे । केही ओैषधि पसलहरुले म्याद नाघेका ओैषधिहरुलाई पनि म्याद भएका ओैषधि सरह एकै स्थानमा राखेको पाइयाे । अधिकाँश ओैषधि पसलहरुले चिकित्सकजन्य फाेहाेरलाई छुट्टै राखेर डिस्पाेज गर्ने गरेको पाइएन । 

स्थानीय सरकार सञ्चालन ऐनले दिएको अधिकार प्रयाेग गरेर महानगरले निरन्तर बजार अनुगमन गरिरहेको हाे। स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले ७५३ वटै स्थानीय सरकारका उपप्रमुखकाे नेतृत्वमा स्थानीय तहकाे बजार अनुगमन गर्ने व्यवस्था गरेको छ। 

‘काेराेना भाइरसकाे महामारीको यस विषम परिस्थितिमा बजार कसरी सञ्चालन भएको छ? भाैतिक दूरी कायम गरेर  व्यवसाय सञ्चालन भएको छ कि छैन? गुणस्तरीय सामानहरु विक्री भएका छन् कि छैनन् ? भनेर हामीले निरन्तर छड्के बजार अनुगमन गरी रहेका छाैं। याे कार्य निरन्तर जारी रहन्छ।’ उपप्रमुख सत्यालले भनिन्। 

ललितपुर महानगरका समान्यप्रशासन महाशाखा प्रमुख श्रीभद्र ओझा भन्छन्, ‘ललितपुर महानगरले आफ्नाे महानगरभित्र उपभोक्ताहरुले उचित र सुलभ मुल्यमा गुणस्तरीय समाग्रीहरु बजारबाट प्राप्त गर्न सकेनसकेकाे विषयमा निरन्तर अनुगमन गरि रहेकाे छ ।  महानगरले निरन्तर बजार अनुगमन गरी मापदण्डअनुसारका उपभाेग्य सामाग्री विक्री नगर्ने, स्थानीय तहका साथै सम्बन्धित निकाय दर्ता नगरी व्यवसाय सञ्चालन गर्नेलाई कार्वाही गरी कानूनी दायरामा ल्याउने कार्य गरी रहेकाे छ ।’

महानगरकाे अनुगमन टाेलीले कतिपय ठाउँमा दर्ता नगरी व्यवसाय सञ्चालन गरेको, मापदण्ड पुरा नगरी दैनिक उपभाेग्य सामग्रीहरु विक्री वितरण गरेको, व्यवसायीले किनेको र वेचेकाे विवरण पारदर्शी तरिकाले नराखेको, भ्याट विल काटेर बेचेको तर  भ्याट विल तिरेर नकिनेकाे समेत फेला पारेकाे जनाएको छ । यस्ता व्यवसायीहरुलाई तुरुन्तै प्रक्रिया पुर्‍याएर सही तरिकाले व्यवसाय सञ्चालन गर्ने निर्देशन समेत दिएको अनुगमन टाेलीका एक सदस्यले वताए ।

Recent Comments

No comments to show.