काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र युक्रेनले युद्धविरामका साथै यु्द्ध नै अन्त्य गर्न तत्काल वार्ता गर्ने बताएका छन् ।
ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोशसमा सोमबार रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग दुई घण्टा कुराकानी भएको जानकारी दिएका छन् । ट्रम्पका अनुसार पुटिनसँगको उनको कुराकानी एकदमै सकारात्मक रह्यो ।
ट्रमपले लेखेका छन्, ‘रुस र युक्रेनले युद्धविराम र त्योभन्दा जरुरी युद्ध अन्त्य गर्नका लागि तत्काल वार्ता गर्नेछन् । यसका शर्तहरू दुवै पक्षबीच सम्झौताबाट तय हुनेछन् ।’
ट्रम्पले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई यसको जानकारी दिइसकेको बताएका छन् ।
यसका साथै, उनले युरोपेली आयोग (ईयू) की अध्यक्ष उर्सुला वन डेर लेयेन, फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोन, इटलकी प्रधानमन्त्री जर्जिया मेलोनी, जर्मनीका चान्सलर फ्रिडिख मर्त्ज र फिनल्याण्डका राष्ट्रपति अलेक्जेन्डर स्टबलाई पनि यसबारे सूचित गराएका छन् ।
पुटिन र जेलेन्स्कीले के भने ?
पुटिनले सम्भावित भावी शान्ति सम्झौताबारे समझदारीका निम्ति युक्रेनसँग मिलेर काम गर्न आफू तयार रहेको बताएका छन् ।
जेलेन्स्कीले यो निर्णायक घडी भएको बताउँदै अमेरिकालाई यी संवादहरूबाट नटाढिन आग्रह गरेका छन् ।
पुटिनसँगको वार्ताबारे ट्रम्पले सकारात्मक टिप्पणी गरे पनि रुस–युक्रेन शान्ति वार्ता कहिले सुरु हुन्छ भनेर कुनै सङ्केत दिइएको छैन ।
साथै अमेरिका तथा युरोपेली देशहरूले रुसी राष्ट्रपतिलाई ३० दिने निःशर्त युद्धविराम गर्न गरेको आग्रहको पनि पुटिनले जवाफ दिएका छैनन् ।
ट्रम्पसँगको वार्तापछि जेलेन्स्कीले ‘पूर्ण तथा निशर्त युद्धविराम’ का लागि युक्रेनको इच्छा पुनः प्रकट गरे । यदि मस्को तयार नभए ‘अझै कडा आर्थिक प्रतिबन्ध’ हरू लगाइनुपर्ने पनि उनले बताए ।
ट्रम्पसँग कुरा हुनुभन्दा अगाडि बोल्दै गर्दा जेलेन्स्कीले युक्रेनबारेका कुराकानीमा उनको देशलाई सामेल गराउनैपर्ने र त्यो ‘सैद्धान्तिक मान्यता’ को विषय भएको बताए ।
उनले रुससँग हुने संवादको प्रक्रियामा ‘अमेरिकी तथा युरोपेली दुवै पक्षका उचित तहका प्रतिनिधिको सहभागिता हुनैपर्ने’ बताएका छन् ।
‘अमेरिका यी संवादबाट नटाढिने विषय हामी सबैका लागि अनि शान्तिका लागि जरुरी छ, किनभने त्यसो हुन गयो भने केवल पुटिनलाई फाइदा पुग्छ,’ उनले भने ।
Comment