काठमाडौ । सरकारले पहिलोपटक आयोजना गरेको ‘सगरमाथा संवाद’ शुक्रबार काठमाडौंमा सुरु भएको छ। जलवायु परिवर्तन र त्यसको प्रभावबारे विश्वलाई जानकारी गराउने तथा समाधान खोज्ने उद्देश्यले आयोजित कार्यक्रममा १२ देशका प्रतिनिधिमण्डलसहित करिब ३५० जना सहभागी छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेको कार्यक्रममा परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले स्वागत मन्तव्य दिइन्।
‘जलवायु परिवर्तन, पर्वत र मानवताको भविष्य’ नाराका साथ सुरु भएको संवाद तीन दिन चल्नेछ। कार्यक्रममा चीन, भारत, सार्क, बिमस्टेक, विश्व बैंक, एसियाली विकास बैंकलगायत ६१ अन्तर्राष्ट्रिय तथा राष्ट्रिय संस्थाको सहभागिता रहेको छ।
संवादमा प्लेनरी सेसन, समानान्तर सत्र र साइड इभेन्ट हुनेछन्। अन्तिम दिन विदेशी पाहुनालाई हिमाली उडान गराउने र ‘काठमाडौं घोषणापत्र’ जारी गर्ने कार्यक्रम छ।
संयुक्त राष्ट्रसंघले सन् २०२५ लाई ‘अन्तर्राष्ट्रिय हिमनदी संरक्षण वर्ष’ घोषणा गरेकाले संवादमा हिमाली क्षेत्रका मुद्दा विशेष रुपमा उठाइनेछ। सरकारले सगरमाथा संवादलाई दुई वर्षमा एकपटक आयोजना गर्ने निर्णय गरिसकेको छ।
प्रतिक्रिया