मोरङ । गृहमन्त्री रमेश लेखकले नेपाल राष्ट्र बैंकको गभर्नर चाँडै नियुक्त हुने बताएका छन्।
आज विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै गृहमन्त्री लेखकले नेपाली कांग्रेस र नेकपा ९एमाले० बीचको सहमतिअनुसार निकट भविष्यमै गभर्नर नियुक्त गरिने जानकारी दिए।
उनले मुलुकमा राजनीतिक स्थिरता र आर्थिक समृद्धिका लागि कांग्रेस–एमालेको सहमतिमा बनेको वर्तमान गठबन्धन सरकार पूर्ण कार्यकालसम्म सञ्चालन हुने दाबी गरे।
गृहमन्त्री लेखकले जनतामाझ देखिएको निराशा चिर्ई आशाको किरण दिन यो सरकार गठन भएको उल्लेख गरे। उनले संविधान र वर्तमान व्यवस्थाविरुद्ध कुनै पनि राजावादी गतिविधि सह्य नहुने स्पष्ट पारे।
उनले नेपाली जनताको ठूलो सङ्घर्ष, त्याग र बलिदानबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्रको विकल्पमा कुनै पनि निरङ्कुश व्यवस्था स्वीकार्य नहुने बताए।
लेखकले वर्तमान सरकारले १० महिनाको अवधिमा गरेका उपलब्धिहरूको प्रशंसा गर्दै आर्थिक सूचकांकमा सुधार देखिएको र अर्थतन्त्र सबलीकरणतर्फ सरकार अघि बढिरहेको जानकारी दिए।
प्रतिक्रिया