काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले ‘देश खत्तम भयो’ भन्ने नकारात्मक धारणा राजनीतिज्ञहरूबाटै निर्माण भएको बताएकी छन्।
बिहीबार काठमाडौंमा आयोजित ‘सात प्रदेशको चित्र, एउटै क्यानभासभित्र – जहाँ हर पालिकाले सुनाउँछ आफ्नै कथा’ पुस्तक लोकार्पण कार्यक्रममा बोल्दै उनले यस्ता विचार र प्रवृत्ति देशलाई असहज अवस्थामा धकेल्ने काम भएको उल्लेख गरिन्।
उनले भनिन्, ‘हाम्रो देशमा किन संघर्ष नै संघर्ष हुन्छ, कहिले सडक आन्दोलन, कहिले धर्ना? हामी सकारात्मक काममा समय खर्च गर्नुको सट्टा असहज अवस्था सिर्जना गर्ने काम गरिरहेका छौं। मलाई लाग्छ, हामी राजनीतिमा रहेका मान्छेहरू आफैँ दोषी हौं।’
डा. राणाले देशमा सकारात्मक प्रयास भइरहेका बेला पनि सधैं ‘केही भएको छैन, देश खत्तम भयो’ भन्ने नकारात्मक भाष्य फैलाउन खोजिने गरेको उल्लेख गरिन्। यस्तो प्रवृत्तिप्रति चेतावनी दिँदै उनले सबैलाई सकारात्मक सोच विकास गर्न र आशावादी दृष्टिकोण राख्न आग्रह गरिन्।
उनको भनाइमा, राजनीतिज्ञहरू स्वयंले परिवर्तनको नेतृत्व लिनुपर्छ र देशप्रतिको नकारात्मक सोचलाई परास्त गर्न सकारात्मकता, सहकार्य र विकासको बाटो रोज्नुपर्ने आवश्यकता रहेको छ।
प्रतिक्रिया