काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो आठ महिनामा देशमा १० खर्ब ५१ अर्ब ७७ करोड रुपैयाँ बराबरको रेमिट्यान्स भित्रिएको छ। नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा ९.४ प्रतिशतले बढी हो।
यद्यपि रेमिट्यान्स रकम बढे पनि वृद्धिदरमा भने गिरावट आएको छ। अघिल्लो वर्षको यही अवधिमा रेमिट्यान्स १८.३ प्रतिशतले वृद्धि भएको थियो। अमेरिकी डलरमा हेर्दा, यो वर्ष ६.९ प्रतिशतले वृद्धि भई ७ अर्ब ७४ करोड डलर पुगेको छ, भने गत वर्ष यो वृद्धि दर १६.१ प्रतिशत थियो।
राष्ट्र बैंकका अनुसार वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या समेत बढेको छ। चालु वर्षको आठ महिनामा अन्तिम श्रम स्वीकृति लिनेको संख्या ३ लाख १७ हजार ६८ पुगेको छ, जुन अघिल्लो वर्षको २ लाख ८५ हजार ३५२ को तुलनामा उल्लेखनीय वृद्धि हो। पुनः श्रम स्वीकृति लिनेको संख्या पनि बढेर २ लाख १७ हजार ४०३ पुगेको छ।
यस अवधिमा देशको खुद द्वितीय आय ११ खर्ब ४८ अर्ब १२ करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्ष १० खर्ब ४१ अर्ब रुपैयाँ थियो। रेमिट्यान्स वृद्धिले देशको विदेशी मुद्रा सञ्चिति र उपभोग क्षमतामा टेवा दिएको राष्ट्र बैंकको विश्लेषण छ।
प्रतिक्रिया