काठमाडौं उपत्यकामा घरजग्गा किनबेच कहाँ धेरै भइरहेको छ ?

काठमाडौं उपत्यकामा घरजग्गा किनबेच कहाँ धेरै भइरहेको छ ?

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । विगत ३ वर्षदेखि शिथिल रहेको घरजग्गा कारोबार अझै गति लिन सकेको छैन।

२०७९ जेठमा सरकारले भू-उपयोग नियमावली लागू गरेपछि ओरालो लागेको कारोबारले आर्थिक मन्दीका कारण उचाइ लिन नसकेको हो। घरजग्गा कारोबारमा सुधार ल्याउन नेपाल सरकार र राष्ट्र बैंकले एकपछि अर्को खुकुलो नीति ल्याइरहे पनि कारोबारको गतिमा सुधार देखिएको छैन। आर्थिक शिथिलताका बाबजुद चालु आर्थिक वर्षको ८ महिनामा देशभरमा ३ लाख २४ हजार ३३९ वटा घरजग्गा किनबेच भएको छ। यसमध्ये पुस महिनामा सबैभन्दा धेरै ४८ हजार १५६ वटा घरजग्गा लिखत पारित भएको थियो।

पछिल्ला वर्षहरूमा काठमाडौं उपत्यकाभन्दा तराईका सहरहरू घरजग्गा कारोबारको केन्द्रबिन्दु बन्दै गएका छन्। नयाँ सहर र प्रदेश राजधानीको रूपमा विकसित भइरहेका तराईका क्षेत्रहरूमा मानिसहरूको आकर्षण बढ्दो छ। काठमाडौंमा बाक्लो आवास, उच्च मूल्य र खुला ठाउँको अभावका कारण तराईका सहरी क्षेत्रहरू रोजाइमा पर्ने गरेका हुन्। विगतमा काठमाडौं उपत्यका घरजग्गा कारोबारको केन्द्र मानिन्थ्यो तर पछिल्लो समय विराटनगर, दमक, इटहरी, सुनसरी, नेपालगञ्ज, भरतपुर र बर्दिबासजस्ता सहरहरूमा किनबेच तीव्र भएको देखिन्छ। संघीय संरचनामा गएको देशमा पहाडबाट तराई र दुर्गमबाट सुगम क्षेत्रमा बसाइँसराइ गर्ने प्रवृत्ति तीव्र भएकाले पनि कारोबार बढेको हो।

काठमाडौं उपत्यकामा भने पछिल्लो केही वर्षदेखि घरजग्गा कारोबार सुस्ताएको देखिन्छ। चालु आर्थिक वर्षको ८ महिनामा उपत्यकामा जम्मा २८ हजार ७७८ वटा घरजग्गा किनबेच भएको छ। जसमा काठमाडौंमा १५ हजार ६१२, ललितपुरमा ६ हजार ३९९ र भक्तपुरमा ६ हजार ७६७ वटा घरजग्गा किनबेच भएको तथ्यांक भूमि व्यवस्थापन तथा अभिलेख विभागले जनाएको छ। उपत्यकामा चक्रपथ क्षेत्र बाहिरको कारोबार बढी हुने गरेको छ। मालपोत कार्यालयहरूमध्ये काठमाडौंको कलंकी मालपोतबाट सबैभन्दा धेरै ४ हजार ६२६ वटा घरजग्गा किनबेच भएको छ। चाबहिल, साँखु र मनमैजु मालपोतबाट पनि उल्लेख्य कारोबार भएको छ। ललितपुरको लगनखेल मालपोत कार्यालयबाट ६ हजार २८७ वटा र गोटीखेलबाट ११२ वटा घरजग्गा किनबेच भएको छ।

विशेषज्ञहरूको भनाइमा काठमाडौंको उच्च मूल्य, ठाडो सहरीकरण र खुला ठाउँको अभावले गर्दा उपत्यका क्षेत्रको आकर्षण घट्दै गएको हो। तराईका सहरहरूमा सहज बसोबास र रोजगारीका अवसरले गर्दा कारोबारमा तीव्रता आएको बताइएको छ।

Recent Comments

No comments to show.