काठमाडौं । नेपाली कांग्रेसका सांसद जीवन परियारले सिरहाको औरही गाउँपालिका-५ मा विष्णु महायज्ञ गर्ने नाममा त्यहाँ बसोबास गरिरहेका डोम समुदायका व्यक्तिहरूलाई उठिवास गरिएको आरोप लगाएका छन्।
प्रतिनिधि सभाको बिहीबारको बैठकमा बोल्दै सांसद परियारले गाउँपालिका अध्यक्ष शिवजी यादव र जनमत पार्टीका गाउँपालिका समिति अध्यक्ष दिलिप यादवसहितका व्यक्तिहरूको संलग्नतामा डोम समुदायलाई विस्थापित गरिएको बताए। उनले पीडित परिवारहरूलाई न्याय दिलाउन सरकारको ध्यानाकर्षण गराए।
‘औरही गाउँपालिका अध्यक्ष शिवजी यादव र जनमत पार्टीका गाउँपालिका अध्यक्ष दिलिप यादवसहितका व्यक्तिहरूले डोम समुदायका नागरिकहरूलाई उठिवास गरेको घटनाप्रति घोर भर्त्सना गर्दछु,’ उनले संसदमा भने।
उनले नेपालमा जातीय विभेदका घटना बढिरहेको र रङभेदसम्बन्धी आन्दोलनहरू भइरहेका भन्दै गम्भीर चिन्ता व्यक्त गरे। सांसद परियारले पीडित समुदायलाई संरक्षण प्रदान गर्न सरकारलाई तत्काल हस्तक्षेप गर्न आग्रह गरे।
प्रतिक्रिया