काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभामा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई कार्यसम्पादन मूल्यांकनमा शून्य अंक दिएको विषय उठाएको छ।
बुधबार प्रतिनिधिसभा बैठक सुरु भए लगत्तै माओवादी सांसद स्थानबाट उठेर बैठक अवरोध गरेका थिए। त्यसपछि सभामुख देवराज घिमिरेले माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेलाई बोल्न समय दिएका थिए। त्यसपछि उनले कुलमानको स्पष्टीकरण र शून्य अंकबारे प्रश्न गरे ।
‘कार्यकारी निर्देशक कुलमान घिसिङलाई निरन्तर स्पष्टीकरण सोध्ने कुरा र उहाँको मूल्यांकनमा शून्य अंक दिने कुरा सुनिरहेका छौँ,’ उनले भने, ‘सरकार जसले एउटा राम्रोसँग काम गरिरहेको छ। जसले विद्युत् प्राधिकरणले राम्रो नाफा गरिरहेको छ त्यसलाई शून्य अंक दिएको छ। सरकारका मन्त्रालयको मूल्यांकन नहेर्ने ठिक ढंगले काम गरिरहेकोमा शून्य अंक दिने कुरा के हो ?’
उनले सभामुखसँग सरकारको जवाफ माग गर्न रुलिङको पनि माग गरे।
प्रतिक्रिया