नदी कटानका कारण फोहर व्यवस्थापनमा समस्या

नदी कटानका कारण फोहर व्यवस्थापनमा समस्या

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

तनहुँ। फोहर फाल्ने ठाउँ मादी नदीले कटान गरिदिएपछि तनहुँको व्यास नगरपालिकाले विगत एक महीनादेखि बजार क्षेत्रबाट फोहर सङ्कलन गर्न सकेको छैन। व्यास नगरपालिका–३ स्थित भतेरीमा मादी नदीले कटान गरेपछि एक महीनादेखि बजार क्षेत्रको फोहर उठ्न नसकेको हो।    

नगरपालिकाले बजार क्षेत्रबाट सङ्कलन गरेर बिसर्जन गर्ने ठाउँ मादी नदीले कटान गरिदिएपछि समस्या भएको व्यास नगरपालिका सरसफाइ उपशाखाका प्रमुख भाग्यशाली ढुङ्गानाले जानकारी दिइन्। “नगरक्षेत्रबाट सङ्कलन गरिने फोहरमैला मादी नदी नजिकको भतेरीमा फाल्ने गरिन्थ्यो, मादीमा आएको बाढीले उक्त ठाउँ नै कटान गरिदिएर फोहर पनि बगाइदियो,” ढुङ्गानाले भनिन्, “ठाउँ अभावमा अहिले बजार क्षेत्रको फोहर उठाउन सकेका छैनौ।”    

व्यास नगरपालिकाले बजार क्षेत्रको वडा नं २, ३ र ४ बाट दैनिक रूपमा फोहर सङ्कलन गर्दै आएको थियो। कोभिड–१९ का कारण नगरपालिकामा बन्दाबन्दी भएकाले पसलहरू बन्द रहेपनि घरबाट निस्कने फोहरमैला व्यवस्थापन गर्नेतर्फ नगरपालिकाले सोच्नुपर्ने व्यास नगरपालिका–२ निवासी विकास खनालले बताए।     

सरसफाइ उपशाखा प्रमुख ढुङ्गानाले भने केही दिनभित्रै नियमित रूपमा फोहर सङ्कलन गर्ने व्यवस्था मिलाउन लागिएको जानकारी दिइन्। भतेरीमा रहेको बाबुलाल श्रेष्ठको केही जग्गा दुई/तीन महीना लिएर उक्त ठाउँमा फोहर व्यवस्थापन गर्न लागिएको उनले बताइन्।     

वर्षाले भतेरी जाने बाटो बिग्रिएपनि नगरपालिकाले बाटो मर्मत भने गरिसकेको छ। फोहर बिर्सजनका लागि वैकल्पिक व्यवस्थापन गर्न बजार क्षेत्रका वडाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतको टोलीले भतेरीको अवलोकन गरेको थियो। नगरपालिकाका बजार क्षेत्रबाट दैनिक ११ टन फोहर सङ्कलन हुने गरेको छ। नगरपालिकामा डम्पिङ साइट नहुँदा विगत वर्षौदेखि भतेरीमा फोहर फाल्दै आइरहेको छ।

डम्पिङ साइट निर्माणका लागि नगरपालिकाले विगतमा व्यास नगरपालिका–५ स्थित एक सामुदायिक वनमा जग्गा अध्ययन गरेको थियो। तर, स्थानीयवासीको विरोधपछि नगरपालिका उक्त ठाउँबाट पछि हटेको छ। नगरपालिकाले फोहरमैला व्यवस्थापन केन्द्र निर्माणका लागि हाल सम्भाव्य देखिएको व्यास नगरपालिका–४ र १० को बीचमा पर्ने सामुदायिक वन क्षेत्रको स्थानको प्रारम्भिक वातावरणीय अध्ययन गर्ने तयारी गरेको प्रवक्ता मोहनकुमार श्रेष्ठले बताए।-रासस

Recent Comments

No comments to show.