४ महिनामा वाणिज्य बैंकहरुले कमाए २२ अर्ब २९ करोड खुद नाफा, कुन बैंकको कति?

४ महिनामा वाणिज्य बैंकहरुले कमाए २२ अर्ब २९ करोड खुद नाफा, कुन बैंकको कति?

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । चालु आर्थिक वर्षको ४ महिना (साउन–कात्तिक)मा २० वटा वाणिज्य बैंकहरूले २२ अर्ब २९ करोड रुपैयाँ खुद नाफा कमाएका छन् ।

गत आवको सोही अवधिको तुलनामा वाणिज्य बैंकहरूको नाफामा ७.५६ प्रतिशतले बढेको हो । गत वर्ष कात्तिकसम्म बैंकहरूले २० अर्ब ६० करोड रुपैयाँ खुद नाफा कमाएका थिए ।

अर्थतन्त्रमा आएको संकुचनका बाबजुद बैंकहरूले नाफा बढाउन सफल भएका छन् । समीक्षा अवधिमा बैंकहरूले नयाँ व्यवसाय विस्तार गरेर भन्दा पनि राष्ट्र बैंकको लचकता र कर्जा रिकभरीबाट नाफा वृद्धि गरेका हुन् ।

आर्थिक शिथिलताका कारण कर्जाको माग नहुँदा बैंकहरूले खासै व्यवसाय विस्तार गर्न सकेका छैनन् । नयाँ कर्जा विस्तार गर्न नसके पनि पुरानो ऋण असुलीमा केन्द्रीत हुँदा ब्यालेन्स सिटमा सुधार ल्याउन सफल भएका हुन् ।

साथै, राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत असल ऋणमा राख्नुपर्ने नोक्सानी व्यवस्थापन रकम १.२ प्रतिशतबाट १.१ प्रतिशतमा झारेको थियो । यसले पनि नाफा बढाउन केही सहयोग गरेको छ ।

त्यस्तै, अहिले निक्षेपको ब्याजदर घट्दा बैंकहरूको खर्च पनि केही घटेको छ । ब्याज खर्च घटेकाले पनि नाफामा बढाउन भूमिका खेलेको छ ।

समीक्षा अवधिमा १३ बैंकको नाफा बढेको छ भने ६ वटाको घटेको छ । सानिमा, हिमालयन, नेपाल इन्भेष्टमेन्ट, मेगा, सिटिजन्स, एनआइसी एशिया र राष्ट्रिय वाणिज्य बैंकको नाफा घटेको छ । सरकारी स्वामित्वको कृषि विकास बैंक भने घाटामा गएको छ ।

कुनले कति कमाए ?

कात्तिकसम्म नबिल बैंकले सबैभन्दा धेरै २ अर्ब ६९ करोड रुपैयाँ नाफा कमाएको छ । गत वर्षको तुलनामा नबिलको नाफा २४.०३ प्रतिशतले बढेको छ ।

त्यस्तै, ग्लोबल आइएमई बैंकले दोस्रो धेरै २ अर्ब ११ करोड रुपैयाँ खुद नाफा कमाएको छ । ग्लोबलले गत वर्ष १ अर्ब ९४ करोड रुपैयाँ नाफा कमाएको थियो ।

कात्तिकसम्म नेपाल इन्भेष्टमेन्टले १ अर्ब ८२ करोड, प्राइम कमर्सियलले १ अर्ब ६२ करोड, कुमारी बैंकले १ अर्ब ५९ करोड, एभरेष्टले १ अर्ब ५० करोड रुपैयाँ नाफा गरेका छन्।

त्यसैगरी, एनएमबी १ अर्ब ४८ करोड, प्रभुले १ अर्ब २३ करोड, स्ट्याण्डर्ड चार्टर्डले १ अर्ब १३ करोड, लक्ष्मी सनराइज बैंकले १ अर्ब ७ करोड, नेपाल एसबीआइले १ अर्ब रुपैयाँ खुद नाफा कमाएका छन् ।

यस अवधिमा ८ बैंकको नाफा भने १ अर्ब रुपैयाँभन्दा कम छ । जसमा नेपाल बैंकले ९३ करोड ६१ लाख, हिमालयनले ९१ करोड ८८ लाख, सिद्धार्थले ६६ करोड ७८ लाख, माछापुच्छ्रेले ६८ करोड ९७ लाख, सानिमाले ६५ करोड १३ लाख, राष्ट्रिय वाणिज्य बैंकले ५५ करोड २७ लाख, सिटिजन्स इन्टरनेशनलले ४३ करोड ८६ करोड रुपैयाँ र एनआइसी एसिया बैंकले ३८ करोड ८१ लाख रुपैयाँ नाफा कमाएको छ ।

४ महिनामा सरकारी स्वामित्वको कृषि विकास बैंक भने २२ करोड ७७ लाख रुपैयाँ खुद नोक्सानीमा गएको छ।

Recent Comments

No comments to show.