काठमाडौंका पेट्रोल पम्पहरू धमाधम पहेँला बनाइँदै, निःशुल्क शौचालय सुविधा

काठमाडौंका पेट्रोल पम्पहरू धमाधम पहेँला बनाइँदै, निःशुल्क शौचालय सुविधा

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । काठमाडौं महानगर क्षेत्रभित्र सञ्चालित सबै पेट्रोल पम्पहरूले धमाधम पहेँलो रङ लगाउन थालेका छन् । महानगरले आफ्नो क्षेत्रभित्र संचालित पेट्रोल पम्पहरू एउर्ट रङको बनाउन निर्देश्न दिएसँगै पेट्रोल पम्पहरुले पहेंलो रंग लगाउन थालेका हुन् ।

महानगरभित्र सञ्चालित पेट्रोल पम्पको अवस्था अध्ययन, अनुगमन तथा व्यवस्थापनका लागि गठन भएको समितिको निर्देशन अनुसार उक्त काम अघि बढिसकेको महानगरले जनाएको छ ।

महानगरले एक महिना अघिदेखि महानगरभित्रका सबै पेट्रोल पम्पहरूलाई समान पहिचान संकेत दिनका लागि पहेंलो रङ्गाएको हो ।महानगरले चालक र सर्वसाधारणको सुविधाका लागि सबै पेट्रोल पम्पका शौचालयहरू नियमित सरसफाई गर्न र निःशुल्क सुविधा उपलब्ध गराउन समेत निर्देशन दिएको छ ।

पेट्रोल पम्प सञ्चालन मापदण्ड अनुसार प्रत्येक पेट्रोल पम्पमा अनिवार्य निःशुल्क शौचालय सुविधा हुनुपर्ने, अग्नी नियन्त्रक उपकरण सहितको सुविधा हुनुपर्ने, पर्याप्त खुल्ला ठाउँ हुनुपर्ने, सुरक्षा संकेत र सुरक्षा रेखाको प्रयोग गरिएको हुनुपर्ने लगायतका मापदण्डको पालना गर्न समेत पेट्रोलियम डिलर्समार्फत् महानगरले अनुरोध गरेको छ।

यस्तै, भाडाका सवारी साधनका चालक तथा सहचालकले आफू खुसी रूपमा नोजल समाउने र इन्धन भर्ने काममा प्रतिबन्ध लगाइएको छ ।

इन्धन भर्न बस्ने नोजल ब्वाइले सुरक्षाका लागि खैरो रङ्गको व्यक्तिगत सुरक्षा पोसाक/सामग्री (पीपीई) लगाउने प्रतिबद्धता कार्यान्वयनको चरणमा रहेको महानगरले जनाएको छ । हाल काठमाडौं जिल्लामा १२३ वटा पेट्रोल पम्प छन् । यीमध्ये काठमाडौँ महानगरपालिकामा बागमती पेट्रोलियम डिलर्स एसोसियसनमा दर्ता रहेका ५० वटा पेट्रोल पम्पहरू छन् ।

अहिले काठमाडौं महानगरपालिका भित्रका ५० पेट्रोल पम्पका सबै पेट्रोल पम्पका कम्तीमा २ देखि ६ वटा सम्म शौचालयहरू सर्वसाधारणको लागि निःशुल्क रूपमा खुल्ला गरिएको महानगरले जनाएको छ ।

‘पेट्रोलियम पदार्थ विक्रेता नियमावली २०७५ (प्रथम संशोधनसहित)’ अनुसार काठमाडौँ र ललितपुर महानगरपालिकाभित्र पेट्रोल पम्प सञ्चालन गर्न ७५० वर्ग मिटर वा १ रोपनी ८ आना क्षेत्रफल भएको जग्गा आवश्यक पर्छ । यसमा सडक तर्फको मोहडा कम्तीमा २० मिटर हुनुपर्छ । भौतिक पूर्वाधारसहित बिक्रीस्थलको मापदण्ड पूरा भएको हुनुपर्छ । बिक्री स्थलको भित्र ३ तर्फ पम्प बिल्टअप लेबलबाट १.२० मिटर अग्लो सिमेन्टको जोडाइमा इँट्टा वा ढुङ्गाको पर्खाल लगाएको र त्यसमाथि ०.९० मिटर अग्लो चेनलिङ्क फेन्सिङ्ग लगाएको हुनुपर्छ ।

रिफ्युलिङ्ग जोनको सेड, सतही ढल, रोड सेफ्टी कर्ब स्टोन एजिङ्ग, वफर स्ट्राईप, डिस्पेन्सिङ्ग पम्प जडान लगायतका संरचना तथा पूर्वाधार हुनुपर्छ ।

Recent Comments

No comments to show.