शिक्षामन्त्रीभन्दा पुराना संस्थामाथि धावा बोल्नु गलत : नेपाल शिक्षक संघका अध्यक्ष

शिक्षामन्त्रीभन्दा पुराना संस्थामाथि धावा बोल्नु गलत : नेपाल शिक्षक संघका अध्यक्ष

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पर्वत । नेपाल शिक्षक सङ्घका सङ्घीय अध्यक्ष सोमनाथ गिरीले शिक्षामन्त्री सुमना श्रेष्ठ जन्मनुभन्दा पहिले नै जन्मिएका संस्थाहरूमाथि मन्त्रीले नै धावा बोल्नु गलत भएको जिकिर गरेका छन्।

सङ्घको ३५औँ स्थापना दिवसको अवसर पारेर जिल्ला कार्यसमिति पर्वतको आयोजनामा शनिवार भएको ‘स्मारिका विमोचन तथा निवृत्त शिक्षक सम्मान’ कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

मन्त्री श्रेष्ठले गरिरहेका कतिपय क्रियाकलापका कारण शिक्षकहरूमा त्रास पैदा भएको भन्दै उनले त्रास मान्नुपर्ने अवस्था भने नरहेको उल्लेख गरे।

‘सुमना जन्मनुभन्दा पहिल्यै जन्मिएर शिक्षामात्रै होइन सामाजिक परिवर्तनका लागि पनि काम गरेका सङ्घ संस्थामाथि किन धावा बोल्ने? अर्को कुरा उहाँको एउटा सूचनामा नै डराउनुपर्दैन’, अध्यक्ष गिरीले भने, ‘कति शिक्षकहरू शहीद हुनुभएको छ। उहाँहरूले घाँटीमा खुकुरी राखेर जीवनदान माग्न लगाउँदा पनि प्रजातन्त्रको पक्षमा बोल्न छाड्नुभएन। घाँटीमा खुकुरी राख्दा नडराएका शिक्षक सूचनासँग डराइहाल्नु पर्दैन।’

वर्षौंअगाडि सङ्गठित भएर शिक्षा क्षेत्रको पक्षमा मात्रै नभएर देशका ठूला क्रान्तिहरूमा समेत महत्त्वपूर्ण भूमिका निर्वाह गरेका शिक्षकका पेशागत सङ्घ/सङ्गठनमाथि कसैले अनावश्यक धावा बोल्न आवश्यक नरहेको अध्यक्ष गिरीको भनाइ छ।

अहिले मन्त्रीले दलीय आबद्धतामा रहेका शिक्षकहरूलाई कारबाही गर्ने कुरा बोलिरहेको भए पनि त्यो व्यवस्था भने यसअगाडि नै दलहरूले नै सहमतिमा निर्माण गरिसकेको उनले बताए।

‘शिक्षक साथीहरूले कुरा बुझ्न पनि आवश्यक छ भने यो नियम अहिले सुमनाले बनाउनुभएको पनि होइन फेरि। राजनीतिक दलहरू सबैको सहमतिमा राजनीतिक दल सञ्चालन ऐन, २०७२ निर्माण भएको छ,’ अध्यक्ष गिरीले भने, ‘त्यसमै राजनीतिक दलहरूले शिक्षक तथा कर्मचारीहरूले कुनै दलको सदस्यता लिन नपाउने भनेर सहमति गरेका छन्।’

शिक्षामन्त्री सुमना श्रेष्ठले शिक्षकहरुले राजनीतिक दलको सदस्यता लिएको भएमा उनीहरूलाई कारबाही गरिने बताउँदै आएकी छिन्।

उनको निर्देशन अनुसार अहिले शिक्षा विकास तथा समन्वय इकाईमार्फत स्थानीय तहहरूमा पत्र पठाएर राजनीतिक दलमा आबद्ध भएका शिक्षकहरूको सूची माग्ने काम चलिरहेको छ। 

स्थानीय तहले विवरण नपठाए पनि दलमा आबद्ध भएका शिक्षकहरू रहेको भएमा केन्द्रमा नै सीधै जानकारी दिन सकिने मन्त्री श्रेष्ठले बताएकी छिन् तर शिक्षक तथा निजामती कर्मचारीहरूले भने शिक्षक आफ्नो पेशागत सङ्गठनमा रहन पाउने बताउँदै आएका छन्।

कार्यक्रममा शिक्षक सङ्घ गण्डकी प्रदेशका अध्यक्ष शिरोमणि लामिछानेले सङ्घले प्रदेशका शिक्षकहरूको लागि तालिम र शिक्षण सिकाइमा सहज हुने गरी विभिन्न तयारीहरू गरिरहेको बताए। 

शिक्षकहरूको हक अधिकारका लागि लड्ने भनेर स्थापना भएको शिक्षक महासङ्घकै अधिवेशन ७ वर्षसम्म हुन नसक्नुले नराम्रो उदाहरण दिएको उनको भनाइ छ।

कार्यक्रममा शिक्षक सङ्घका स्थानीय तहदेखि केन्द्रीय तहसम्मका पदाधिकारी तथा सदस्यहरूको सहभागिता थियो। 

सोही अवसरमा गत एक वर्षको अवधिमा पर्वतका विभिन्न स्थानीय तहहरूबाट सेवाबाट अवकाश लिएका तथा शिक्षक सङ्घमा आबद्ध भएका २६ जना शिक्षकहरूलाई बाँकी समयको कुशलताको कामना गर्दै सम्मान गरिएको छ। 

सोही अवसरमा शिक्षक सङ्घ पर्वतले पहिलो पटक तयार पारेको स्मारिका ‘शिक्षक सौरभ’ को पनि विमोचन गरिएको छ।

Recent Comments

No comments to show.