बजेट अभावमा सेक्युरिटी प्रिन्टिङ प्रेसको भौतिक निर्माण रोकियो

बजेट अभावमा सेक्युरिटी प्रिन्टिङ प्रेसको भौतिक निर्माण रोकियो

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–५ मा निर्माणाधीन सुरक्षण मुद्रण केन्द्र (सेक्युरिटी प्रिन्टिङ प्रेस)को भौतिक निर्माण बजेट अभावले रोकिएको छ । केन्द्र परिसरमा निर्माणाधीन बहुउद्देश्यीय भवन अन्तिम चरणमा पुगे पनि रङरोगन र झ्याल, ढोका हाल्ने काम रोकिएको हो ।

सूचना–प्रविधि (आइटी पार्क)का लागि निर्माण गरिएका भौतिक पूर्वाधार प्रयोगविहीन अवस्थामा रहेपछि सोही पार्कलाई केही वर्षअघि केन्द्रमा परिणत गरिएको थियो । केन्द्रको मुख्य भवनको अग्रभागमा पुनःसजावटको काम सकिएको छ । केन्द्रमा आवश्यक गोदामघरलगायत पूर्वाधार निर्माण, उपकरण खरिद तथा भएका भवनको मर्मतसम्भारको काम हुँदै आएको थियो ।

चालु आर्थिक वर्षमा बजेट विनियोजन नभएकाले थप भौतिक निर्माणलगायत अन्य व्यवस्थापनको काम रोकिएको केन्द्रका निमित्त कार्यकारी निर्देशक बलराम चौधरीले बताए। उनका अनुसार गोदामघर निर्माण सम्पन्न भए पनि रङरोगन र झ्याल, ढोका हाल्ने काम रोकिएको छ ।

५० मिटर लम्बाइ र २५ मिटर चौडाइमा निर्माण भएको उक्त भवनमा सुरक्षित छपाइका कागज, मसी तथा अन्य कच्चापदार्थ लामो समयसम्म भण्डारण गर्न सकिने जनाइएको छ । भवनमा कच्चापदार्थ र उत्पादित सुरक्षित मुद्रण भण्डारण गर्दा ‘पेपर स्रिन्क’ हुनबाट बच्ने र मसी सुक्ने समस्या नहुने निमित्त कार्यकारी निर्देशक चौधरीले बताए । उनका अनुसार उक्त बहुउद्देश्यीय भवन भूकम्प्रतिरोधी, आगोबाट असर नगर्ने ‘स्टिल ट्रस सिस्टम’ प्रविधिको प्रयोग गरी निर्माण भएको हो ।

‘भवनमा सुरक्षित मुद्रणको उपकरण जडान गर्न पनि सकिन्छ । अन्य संरचना निर्माणका लागि बजेट नभए पनि कागज र मसी खरिदका लागि सरकारसँग बजेट मागेका छौँ,’ चौधरीले भने ।

केन्द्रमा यसअघि इराकबाट ल्याइएका दुई उच्च सुरक्षित डिजिटल मेसिनबाट अन्तःशुल्क स्टिकरको नमुना छपाइ गरिएको थियो । हाल जडित दुई मेसिनबाट वार्षिक रु ६० करोड अन्तःशुल्क ‘स्टिकर’ छाप्न सकिने चौधरीले जानकारी दिए । उनका अनुसार गत आवको रू ७३ करोड बजेटबाट उक्त मेसिन तथा केही सूचना प्रविधिका सामग्री खरिद गरिएको हो ।

निमित्त कार्यकारी निर्देशक चौधरीका अनुसार केन्द्रमा एक थान ‘डाई कटिङ मेसिन’ छ । अन्य तीन थान मेसिन जडान गर्न उनले बताए । प्रशासनिक प्रक्रियापछि अन्य मेसिन ल्याएर जनशक्ति तथा कच्चापदार्थ व्यवस्थापनपछि पूर्णरुपमा उत्पादन थाल्न करिब दुई वर्ष लाग्ने उनको भनाइ छ ।

केन्द्रको भौतिक पूर्वाधार निर्माणका लागि चार वर्षअघि प्रारम्भिक बजेट विनियोजन भई आइटीपार्कमा प्रेसको काम सुरु गरिएको हो । तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले प्रेस स्थापनार्थ पनौती–५ स्थित प्रयोगविहीन अवस्थामा रहेका उक्त पार्क छनोट गरी सुरक्षण मुद्रण केन्द्र निर्माण गर्ने निर्णय गरेका थिए ।

प्रेसको काम थाल्न आव २०७६/७७ मा रू १ अर्ब ९करोड बजेट विनियोजन भएपछि काम थालिएको थियो । राहदानी, बैंक नोट, चालक अनुमतिपत्र, स्मार्टकार्ड, हुलाक टिकट, अन्तः शुल्क स्टीकर, सिमकार्डलगायत सुरक्षित छपाइका लागि पार्कमा केन्द्र स्थापना गर्ने निर्णय गरिएको थियो ।

चौधरीले प्रेस निर्माणार्थ आवश्यक भवनलगायत भौतिक संरचनाका लागि जमिन मिलाउने, पर्खाल निर्माण तथा पार्कभित्रै भवनमा पहुँचमार्ग निर्माण भएको बताए। उनका अनुसार खानेपानीका लागि एक÷एक लाख लिटरका दुई ट्याङकी निर्माण, छापाखानाका लागि आवश्यकपर्ने चार ठूला जेनेरेटर जडान तथा ती जेनेरेटर सञ्चालन गर्ने इन्धन भण्डारका लागि तीन लाख लिटर क्षमताको अण्डरग्राउण्ड डिजेल ट्याङकी निर्माण सम्पन्न भइसकेका छन् ।

प्रेस सञ्चालनमा आएपछि सुरक्षित मुद्रणबापत नेपालबाट वार्षिकरुपमा बाहिरिने रू १० अर्ब जोगिन अपेक्षा गरिएको छ । केन्द्रका लागि २०० प्राविधिकसहित करिब १ हजार जनशक्तिको आवश्यकतापर्ने जनाइएको छ ।

सरकारले सुरक्षण मुद्रणलाई तीन चरणमा विकास गर्न दुई वर्षअघि कार्यमूलक एवं नतिजामूलक गुरुयोजना तयार पारेको थियो । सोहीअनुरुप पहिलो चरणमा नेपाललाई पाँच वर्षभित्र आत्मनिर्भर बनाउने, दोस्रो चरणमा आगामी १० वर्षभित्र सुरक्षण मुद्रणसम्बन्धी विश्वसनीय सेवा, गुणस्तरीय सुरक्षण वस्तु सार्क र दक्षिणपूर्वी एसियाका राष्ट्रहरुलाई उपलब्ध गराउने छ । तेस्रो चरणमा आगामी १५ वर्षभित्र सुरक्षण मुद्रणसम्बन्धी विश्वसनीय सेवा र गुणस्तरयुक्त सुरक्षण वस्तु अन्य बाँकी तेस्रो मुलुकमा उपलब्ध गराउने रणनीति तय गरेको हो ।

विसं २०५७ मा निर्माण सुरु गरिएको उक्त आइटी पार्क विसं २०६१ मा सम्पन्न भएपछि सरकारलाई हस्तान्तरण गरिएको थियो । कूल २५७ रोपनी जमिनमा अवस्थित पार्कभित्र दुई ठूला व्यापारिकरप्रशासनिक भवन तथा चार सुविधा सम्पन्न आवासीयसहित नौ भवन थिए । तत्कालीन समयमा दक्षिण एसियामा नै नमूना र ठूलो मानिएको उक्त पार्क सञ्चालनमा ल्याउन नसक्दा पार्क जीर्ण अवस्थामा पुगेको थियो ।

Recent Comments

No comments to show.