काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले फागुन ३० गते विश्वासको मत लिने भएका छन् ।
प्रतिनिधिसभाको आगामी बैठक फागुन ३० मा प्रधानमन्त्री दाहालले विश्वासको मत लिनका लागि व्यवस्था मिलाउन संघीय संसद् सचिवालयलाई पत्र आएको सभामुख देवराज घिमिरेका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिए ।
फागुन २१ गते कांग्रेससँगको गठबन्धन तोडेर एमालेलगायत दलहरुसँग नयाँ गठबन्धन बनाएपछि दाहालले संविधानको धारा १०० उपधारा २ अनुसार विश्वासको मत लिन लागेका हुन् । संविधानमा सरकारलाई समर्थन गरेको दलले समर्थन फिर्ता लिएमा ३० दिनभित्र प्रधानमन्त्रीले विश्वासको मत लिने व्यवस्था छ । कांग्रेसले फागुन २२ मा दाहाल सरकारलाई दिएको विश्वासको मत फिर्ता लिएको थियो ।
दाहालको पक्षमा हालसम्म एमाले, माओवादी, रास्वपा, जसपा, एकीकृत समाजवादी र स्वतन्त्र सांसद अमरेशकुमार सिंहसमेत गरी १५३ सांसद देखिएका छन् । कांग्रेससँगै राप्रपा, जनमत, लोसपा, नागरिक उन्मुक्ति, जनमोर्चा, नेमकिपा, आमजनता पार्टी गरी ११९ सांसद विपक्षमा छन् ।
विश्वासको मत प्राप्त गर्न प्रतिनिधिसभामा तत्काल कायम रहेका सांसदहरुको संख्यामध्ये बहुमतले प्रधानमन्त्रीको पक्षमा मत दिनुपर्नेछ ।
प्रतिक्रिया