काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडकाे प्राथमिक साधरण सेयर (आइपीओ)मा लगानीकर्ताको उच्च आकर्षण देखिएको छ । आवेदन खुलेको दुई दिनमै कम्पनीको आइपीओमा मागभन्दा ८ गुणा धेरै आवेदन परेको हो ।
कम्पनीले हिजोदेखि सर्वसाधरणलाई प्रतिकित्ता ३६०.९० रुपैयाँ दरले २७ लाख ७६ हजार ७६ कित्ता सेयर बिक्रीमा ल्याएको छ ।
सीडीएस एण्ड क्लियरिङका अनुसार उक्त आइपीओमा सोमबार अपराह्न ५:०७ बजेसम्म २ करोड २२ लाख २३० कित्ताका लागि आवेदन परेको छ ।
कम्पनीको आइपीओमा ४ लाख ७ हजार ७७१ जनाले ८ अर्ब १ करोड रुपैयाँ बढीको आवेदन दिएको सीडीएसले जनाएको छ । कम्पनीको आइपीओमा फागुन १६ गतेसम्म आवेदन दिन पाइने छ ।
कम्पनीको आइपीओमा न्यूनतम ५० कित्तादेखि अधिकतममा १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी-आस्बा अनुमति प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्था, तिनका शाखा कार्यालयहरुका साथै मेरोसेयरमार्फ अनलाइन आवेदन दिन सक्नेछन् ।
कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल रहेको छ भने सह निष्काशन तथा बिक्री प्रबन्धकमा एनआइएमबी एस क्यापिटल र प्रभु क्यापिटल रहेको छ।
सेयर निष्काशनका लागि गराएको रेटिङमा इक्रा नेपालले कम्पनीलाई ‘इक्राएनपी इस्यूअर त्रिपल बी’ रेटिङ दिएको छ । यसले कम्पनीको समयमा नै वित्तीय दायित्व बहन गर्न क्षमता मध्यम स्तरको रहेको जनाउँदछ ।
कम्पनीको उद्योग नवलपरासीको सुनवल नगरपालिका–११, जोडेनीमा रहेको छ । उद्योगले २०७१ फागुन १ गतेदेखि सिमेन्ट तथा क्लिंकर उत्पादन गर्दै आइरहेको छ । सो उद्योगको उत्पादन क्षमता प्रतिदिन ३ हजार टन क्लिंकर र ३ हजार टन सिमेन्ट रहेको छ।
प्रतिक्रिया