गाभीले क्यान्सरविरुद्धको ‘एचपिभी’ खोप दिने

गाभीले क्यान्सरविरुद्धको ‘एचपिभी’ खोप दिने

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौ । भ्याक्सिन र खोपका लागि ग्लोबल एलायन्स ‘गाभी’ले नेपाललाई पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप ‘एचपिभी’ उपलब्ध गराउने भएको छ। 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गत साउन अन्तिम साता गाभीसँग खोप माग्दै प्रस्ताव गरेकामा उक्त प्रस्ताव स्वीकार गर्दै खोप उपलब्ध गराउने भएको हो। 

स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाका निर्देशक डा विवेककुमार लालले गाभीले आफूहरुले पठाएको प्रस्ताव स्वीकृत गर्दै एचपिभी खोप उपलब्ध गराउने प्रतिबद्धता जनाएको बताए। 

महाशाखाले १० देखि १४ वर्ष उमेर समूहका किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप अभियान सञ्चालन गर्न खोप माग गरेको थियो। 

‘हामीले माग गरिएको प्रस्तावलाई गाभीले स्वीकार गरेको कुरा हामीलाई प्राविधिक रुपमा जानकारी आएको छ,’ उनले भने, ‘अब बस्ने गाभीको बोर्ड बैठकले हामीलाई खोप उपलब्ध गराउनेछ।’

गाभीसँग सरकारले पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप अभियान सञ्चालन गर्न १७ लाख मात्रा ‘एचपिभी’ खोप माग गर्दै प्रस्ताव पेश गरेको थियो।

खोप आएपछि अभियान सञ्चालन गरेर किशोरीहरुलाई खोप लगाइनेछ। यसअघि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गत भदौ अन्तिम साता करिब १० हजार किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप ‘एचपिभी’ लगाएको थियो। 

महाशाखाको बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमले एचपिभी खोपले पाठेघरको मुखमा हुने क्यान्सरलाई बचाउने भएकाले देशभरिका किशोरीलाई एचपिभी खोप लगाउन खोप मागिएको जानकारी दिए। 

उनका अनुसार खोप १० देखि १४ वर्षका किशोरीलाई लगाइनेछ। उक्त उमेर समूहका किशोरी १६ लाख ५० हजार रहेका छन्। 

नेपालका महिलालाई लाग्ने क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर सबैभन्दा बढी लाग्ने तथ्याङ्क छ। विश्वमा भने महिलालाई सबैभन्दा बढी स्तन क्यान्सर हुने गरेको तथ्याङ्क छ। सन् २०२२ को तथ्याङ्कमध्ये २ हजार २४४ जना महिलालाई पाठेघरको मुखमा क्यान्सरमा लागेको थियो। 

उनले एचपिभी खोपले पाठेघरको मुखमा हुने क्यान्सरको सङ्क्रमण ९५ प्रतिशत सुरक्षा प्रदान गर्ने बताए। यसअघि सरकारले चितवन र कास्कीमा सन् २०१६/०१७ मा पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप नमुनाका रुपमा सञ्चालन गरेको थियो। 

उनले भदौमा गरिएको अभियानमा खोप लगाउन किशोरीमा उत्साह पाइएकाले अब समुदाय स्तरमा गएर एचपिभी खोप लगाउने बताए। 

क्यान्सर रोग विशेषज्ञ डा अरुण शाहीले नेपालमा महिलालाई सबैभन्दा बढी पाठेघरको मुखमा क्यान्सर हुने गरेको बताए। उनका अनुसार असुरक्षित यौनसम्पर्क, सानै उमेरमा विवाह गर्ने, धेरै चुरोट खाने महिलामा पाठेघरको मुखमा क्यान्सर लाग्ने जोखिम हुने गरेको छ। 

विश्व स्वास्थ्य सङ्गठनको (डब्लूएचओ) को तथ्याङ्कअनुसार हरेक दिन नेपालमा ६ जना महिलाको पाठेघरको मुखको क्यान्सरले मृत्यु हुने गरेको छ।

Recent Comments

No comments to show.