यमपञ्चक: आज गाई तिहार

यमपञ्चक: आज गाई तिहार

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज गाई तिहार मनाइँदैछ। सोमबार देवी लक्ष्मीको प्रतीकस्वरूप गाईको पूजा गरिँदैछ।

यो दिन विधिपूर्वक गाईको पूजा गरी खानेकुरा खान दिने परम्परा छ। औँसीका दिन बिहान गाईपूजा र साँझ लक्ष्मीपूजा गर्नुपर्ने विधि भए पनि तिथिको घटबढका कारण यो वर्ष दुई दिन परेको छ। आइतबार अपराह्न नै औँसी तिथि लागेपछि साँझ लक्ष्मीपूजा गरिएको छ। सोमबार बिहान गाईको पूजा गरिँदैछ।

‘कार्तिक कृष्ण औँसीको गाईतिहार सोमबार भए पनि साँझ वा रात्रिमा तिथि नरहने भएका कारण आइतबार नै लक्ष्मीपूजा गरिएको हो’, पञ्चांग निर्णायक विकास समितिका अध्यक्ष प्रा.श्रीकृष्ण अधिकारीले भने।

उनका अनुसार आइतबार १९ घडी ३७ पला अर्थात् दिउँसो २ बजेर १४ मिनेटमा औँसी लागेको हो। सोमबार २० घडी ४४ पला अर्थात् दिउँसो २ बजेर ४४ मिनेटसम्म औँसी रहने समितिले जनाएको छ।  गत वर्ष पनि यस्तै परेको थियो। अघिल्लो दिन बेलुकी लक्ष्मीपूजा गरी भोलिपल्ट बिहान गाईपूजा गरिएको थियो।

श्रावण शुक्ल पूर्णिमाका दिन हातमा बाँधिएको रक्षासूत्र (डोरो) गाईतिहारकै दिन गाईको पुच्छरमा बाँधिदिने चलन छ। यसो गर्दा मृत्युपछि ‘वैतरणी’ गर्न सहज हुने लोकविश्वास छ।

तिहारको चौथो दिन गोरुपूजा वा गोवर्धन पर्वतको पूजा गर्ने परम्परा छ।

Recent Comments

No comments to show.