आर्थिक संकट समाधान गर्न एसियाली मुलुकबीच सहकार्यमा जोड

आर्थिक संकट समाधान गर्न एसियाली मुलुकबीच सहकार्यमा जोड

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले हाल विश्वमा देखापरिरहेको आर्थिक संकटको समाधानका लागि एसिया प्रशान्त क्षेत्रका मुलुकहरूका बीचमा सहयोग तथा सहकार्य हुनुपर्नेमा जोड दिएका छन ।

हाल विश्वका विभिन्न स्थानमा विविध विषय र क्षेत्रका अलग-अलग समस्या उत्पन्न भइरहेका र यसका कारण बहुआयामिक चुनौतीहरू देखापरेकाले ती समस्याको समाधान गर्न एसियाली क्षेत्रमा सहकार्य र सहयोग हुनुपर्नेमा जोड दिएका हुन ।

जापानको राजधानी टोकियोमा आयोजित एसियन रोजगारदाता सम्मलेनलाई आज सम्बोधन गर्दै अध्यक्ष ढकालले शान्ति र स्थायित्वबिना कुनै पनि समस्या समाधान गर्न सहज नहुने भन्दै सबै मिलेर काम गर्नुपर्नेमा जोड दिएको नेपाल उद्योग वाणिज्य महासंघद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

अध्यक्ष ढकालले दिगो आर्थिक वृद्धि, रोजगारी सिर्जना, श्रम आप्रवासन र सीप विकासलगायत एसिया प्यासिफिक क्षेत्रका साझा लक्ष्यहरू दोहोर्‍याउँदै, यस क्षेत्रका मुलुक र निजी क्षेत्रबीचको सहकार्य र सवन्वयबाट मात्र यी चुनौतीको सामना गर्न सकिने बताए ।

ढकालले द्रुत ‘डिजिटलाइजेसन’ र व्यवसाय सञ्चालनमा आर्टिफिसिएल इन्टेलिजेन्स (एआई)को एकीकरणतर्फ पनि ध्यानाकर्षण गराएका थिए । उनले सम्भावित असमानताहरूलाई न्यूनीकरण गर्न श्रमिकको सीप विकास तथा क्षमता अभिवृद्धि गर्नुपर्ने बताए ।

ढकालले आर्थिक वृद्धि, रोजगारी सिर्जना, साना तथा मझौला उद्यमलाई सहयोग, सामाजिक सुरक्षा, सीप विकास तथा सामाजिक संवादको सुदृढीकरणमा नेपाल प्रतिबद्ध रहेकोसमेत जनाए ।

नेपालमा लगानीको वातावरण सुधार हुँदै गएको र लगानीको प्रचुर सम्भावना रहेको बताउँदै अध्यक्ष ढकालले दुई ठूला र उदीयमान मुलुक चीन र भारतको बीचमा रहेकाले नेपालमा बजारको ठूलो सम्भावना रहेको बताए ।

अध्यक्ष ढकालले नेपालको जलविद्युत्, पर्यटन पूर्वाधार विकासको क्षेत्र फस्टाउँदो रहेको र यी क्षेत्रमा लगानीको प्रचुर सम्भावना रहेको जानकारी दिए ।

Recent Comments

No comments to show.