काठमाडौं । ऋण नतिरेपछि कर्मचारी सञ्चय कोषले सुधिर बस्नेतको कोहिनुर हिल हाउजिङ लिलामीमा राखेको छ । कोषले बिहीबार एक सूचना जारी गर्दै ललितपुरको इमाडोलमा निर्माणधीन उक्त हाउजिङ लिलामीमा राखेको हो ।
सहकारी संस्थाको रकम अपचलनको आरोप खेपिरहेका बस्नेतको यस हाउजिङ कम्पनीले कोषको ऋण तिर्न नसकेपछि कोषले लिलामी प्रक्रिया अघि बढाएको हो ।
कोषले कोहिनुर हाउजिङको १० रोपनी ९ आना जग्गा र सो जग्गामा निर्माणाधीन भवनहरू लिलामी बिक्रीमा राखेको हो ।
कोषलाई बस्नेतले हाउजिङ निर्माणका लागि लिएको २३ करोड साँवा र त्यसको ब्याजसहित करिब १ अर्ब रुपैयाँ तिर्नुपर्ने दायित्व छ । अब कोषले यही सम्पत्ति बिक्री गरी ऋण उठाउने छ ।
पटकपटक ऋण तिर्न आह्वान गरे पनि ऋणीले कर्जा चुक्ता नगरी सम्झौता उल्लंघन गरेकाले सम्पत्ति लिलामी गर्नुपरेको कोषले जनाएको छ ।
उक्त हाउजिङ खरिद गर्न इच्छुक व्यक्ति वा कम्पनीले ३५ दिनभित्रमा कोषको केन्द्रीय कार्यालय पुल्चोकमा आइपुग्ने गरी बोलपत्र पेश गर्न आहृवान गरिएको छ ।
प्रतिक्रिया