काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले आफू निष्ठाको राजनीतिबाट कहीँ कतै नचुकेको दाबी गरेका छन्।
मंगलवार प्रतिनिधिसभा बैठकमा ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक–२०८०’ माथि सांसदहरूले उठाएको प्रश्नको जवाफ दिने क्रममा उनले यस्तो दावी गरेका हुन्। सांसदहरूले उक्त विधेयक ल्याउने क्रममा बिचौलियाहरू हाबी भएको टिप्पणी गरेकोमा आपत्ति जनाउँदै आफूमाथि त्यस्ता खालको आरोप नलगाउन पनि सांसदहरूलाई आग्रह गरे।
मन्त्री गुरुङले मन्त्री सधैँ नहुने कुरामा आफू स्पष्ट रहेको उल्लेख गर्दै पदमा बहाल रहँदा आफूले निष्ठाको राजनीति नछोड्ने दाबी गरे। जुन दिन निष्ठामाथि आँच आउँछ, त्यो पनि आफूले राजनीति नगर्ने उनको भनाइ थियो।
मन्त्री गुरुङले भने, ‘बिचौलिया हाबी भएर विधेयकहरू आयो भन्ने माननीय सदस्यहरूको अभिव्यक्तिप्रति मेरो आपत्ति छ। धनराज गुरुङ आजको मितिसम्म कहीँ कतै पनि चुकेको छैन। भोलिका दिन पनि चुक्दैन। निष्ठाको राजनीति गर्ने हो। बिचौलिया र सामन्तवादका विरुद्ध लडेर यहाँसम्म आएको छु। आज यहाँ एउटा विधेयक संशोधन गर्ने क्रममा बिचौलिया हाबी भयो भनेर तरबार नै गर्धनमा हान्न खोज्नु, अलि मिलेन कि?’
मन्त्री गुरुङले आफू जिन्दगीभर बिचौलियाका विरुद्ध लडेर आएको जिकिर गर्दै आफ्नो पृष्ठभूमि नियाल्न पनि सांसदहरूलाई अनुरोध गरे।
प्रतिक्रिया