काठमाडौं । किसान लघुवित्त वित्तीय संस्थाको खुद नाफामा उल्लेख्य सुधार आएको छ । लघुवित्तले बिहीबार सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७९/८० को चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार खुद नाफा १११०.६६ प्रतिशतले बढेको छ ।
लघुवित्तले गत असार मसान्तसम्म १ करोड ३६ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो वर्षको तुलनामा १ करोड २५ लाख रुपैयाँ बढी हो । अघिल्लो वर्ष लघुवित्तले जम्मा ११ लाख रुपैयाँ नाफा कमाएको थियो ।
खुद ब्याज आम्दानी घटे पनि संचालन नाफा बढ्दा र इम्येरमेन्ट चार्ज घट्दा लघुवित्तको नाफामा छलाङ आएको हो ।
समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी २९.०३ प्रतिशत घटेर २५ करोड ७० लाख रुपैयाँमा सीमित भएको छ । लघुवित्तको संचालन नाफा भने १४२ प्रतिशतले बढेर १ करोड ९४ लाख रुपैयाँ पुगेको छ ।
समीक्षा अवधिमा लघुवित्तले १ अर्ब ३४ करोड निक्षेप संकलन र ४ अर्ब ३८ करोड सापटी लिई ६ अर्ब २१ करोड कर्जा लगानी गरेको छ ।
हाल ५० करोड ४३ लाख रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको रिटेन्ड अर्निङमा २ करोड १ लाख र जगेडा कोषमा ११ करोड ३१ लाख रुपैयाँ सञ्चित छ।
समीक्षा अवधिमा लघुवित्तको वितरणयोग्य मुनाफा २ करोड ३१ लाख रुपैयाँ छ । यसबाट लघुवित्तले सेयरधनीलाई ४.६२ प्रतिशत लाभांश बाँड्न पुग्छ ।
नाफा बढेसँगै लघुवित्तको प्रतिसेयर आम्दानी बढेको छ । अघिल्लो वर्षमा ३२ पैसा रहेको लघुवित्तको प्रतिसेयर आम्दानी गत वर्ष २.७० रुपैयाँ पुगेको छ ।
समीक्षा अवधिमा लघुवित्तको प्रतिसेयर नेटवर्थ १२६.४२ रुपैयाँ र खराब कर्जा बढेर ५.९५ प्रतिशत पुगेको छ ।
प्रतिक्रिया