काठमाडौ । काठमाडौं महानगरपालिका– ७ साततले र बुढानीलकण्ठ नगरपालिका– १० बीचमा खोला खोल्ने विषयमा वादविवाद भएको छ।
वादविवाद बढ्दै जाँदा झडपको स्थिति सिर्जना भएपछि ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ।
महानगरका मेयर बालेन्द्र साहले वडाध्य्क्ष विमलकुमार होडालाई खोलाको कल्भर्ट खोल्न बुधबार निर्देशन दिएका थिए। सोहीअनुसार नगर प्रहरी र डोजरसहित वडाको टोली कल्भर्ट खोल्न पुगेको वडाध्यक्ष होडाले बताए।
काठमाडौँ महानगरपालिका कुनै सल्लाह नै नगरी सो क्षेत्रमा बिहीबार डोजरसहित पुगेपछि स्थानीय र महानगर प्रहरीबीच झडप नै भएको थियो । खोला आसपासका स्थानीयले आफ्ना भौतिक संरचनामा महानगरले एक्कासी डोजर चलाउन थालेपछि विरोध गरेका थिए ।
‘सात तलेदेखि फैकासम्मको सीमा क्षेत्र आजैबाट नाँपजाँच सुरु भएको छ । नाँपजाँचपछि के गर्ने भन्ने निर्णय गर्ने सहमति भएको छ’, बुढानीलकण्ठका मेयर अधिकारीले भने । मेयर अधिकारीका अनुसार एक दुई दिनभित्रै नाँपजाँच सकेर कसरी अघि बढ्ने भन्ने टुंगो लाग्नेछ ।
बुढानिलकण्ठ नगरपालिकाका मेयर मिठाराम अधिकारीले काठमाडौं महानगरपालिकासँगको सीमा विवाद समाधानका लागि संवाद र सहमति अपरिहार्य रहेको धारणा व्यक्त गरेका छन्। उनले स्थानीय नागरिकको हितलाई प्राथमिकतामा राख्दै समन्वयात्मक रूपमा विवाद समाधान गर्न जोड दिएका छन्।
उनका अनुसार स्थानीय जनताको सुविधा र विकासलाई अवरोध नगर्ने गरी दुबै नगरपालिकाले सहकार्य गर्नुपर्छ। अधिकारीले यस विषयलाई कानुनीभन्दा पनि सहमतिको माध्यमबाट टुंग्याउने पक्षमा आफू रहेको बताउँदै जनप्रतिनिधिहरू र सरोकारवालाबीच छलफललाई तीव्र बनाउनु पर्ने धारणा राखेका छन्।
प्रतिक्रिया