गौर घटनाका दोषीलाई कारबाहीको माग गरी ६ दिनदेखि धर्ना

गौर घटनाका दोषीलाई कारबाहीको माग गरी ६ दिनदेखि धर्ना

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चन्द्रनिगाहपुर। गौर घटनाका दोषीलाई कारबाहीको माग गर्दै मृतकका परिवारले चन्द्रनिगाहपुरमा ६ दिनदेखि धर्ना दिइरहेका छन्।

सत्र वर्षअघि २८ जनाको ज्यान लिने गरी भएको हत्याका दोषीमाथि हालसम्म कारबाही नभएकाले दबाव दिन चन्द्रनिगाहपुरको तीनकुने पार्कमा मृतकका परिवारले अनिश्चितकालीन धर्ना दिँदै आएका छन्।

धर्नामा नेपाली काँग्रेस, रास्वपा, नागरिक समाजका अगुवा लगायत राजनीतिक दलका स्थानीय नेता तथा कार्यकर्ताले ऐक्यबद्धता जनाएका छन्। रास्वपाका अजयकुमार साह, नेपाली काँग्रेसका प्रदेश सभा ‘क’का सभापति नीलहरि कोइराला, नागरिक समाज रौतहटका अगुवा डा. शालिग्राम शर्मालगायतले पीडित परिवारले न्याय पाउनुपर्ने भन्दै ऐक्यबद्धता जनाएका हुन्।

विसं २०६३ साल चैत ७ गते रौतहटको सदरमुकाम गौरस्थित राइस मिल चौरमा माओवादी र तत्कालीन फोरम (हाल जसपा)का बीचमा भएको झडपमा २७ जनाले घटनास्थलमै र एकजनाले उपचारका क्रममा ज्यान गुमाएका थिए। १७ वर्ष बित्दा पनि न्याय पाउन नसकेका कारण आफूहरू न्याय माग्न धर्ना र आन्दोलन गर्न बाध्य भएको पीडित परिवारले जनाएका छन्।

धर्नासँगै जिल्ला तथा केन्द्रका विभिन्न राजनीतिक दलदेखि लिएर राष्ट्रिय मानव अधिकार आयोगलगायतका संघसंस्थाको चासो बढ्दै गएको छ। गौर हत्याकाण्डका दोषीलाई कारबाही नगरेसम्म आन्दोलन जारी रहने आम जनता पार्टीका वरिष्ठ उपाध्यक्ष बद्री न्यौपानेले बताए।

सरोकारवाला निकायले चासो नदेखाए आफूहरूले कडा कदम चाल्ने गौर हत्याकाण्ड संर्घष समितिकी संयोजक रूपसागर देवीले बताइन्।

Recent Comments

No comments to show.