जुम्ला। कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले जुम्लालाई जुम्ला स्याउबाटै समृद्धिको जिल्ला बनाउनतर्फ प्रदेश सरकार लागेको बताए। उनले स्याउसहित कृषि वन पैदावर कर्णालीको मुख्य आर्थिक स्रोत हुने भएकाले यस क्षेत्रमा लगानी गरिने बताएका हुन्।
‘जुम्ला विकासका सम्भावना विषयक साझा बहस’ कार्यक्रममा कर्णाली प्रदेशका मुख्यमन्त्री शर्माले हरेक किसानले स्याउबाट ५० हजारभन्दा बढी नगद आम्दानी गर्न सक्ने बताए।
मुख्यमन्त्री शर्माले कर्णाली आन्तरिक आम्दानीमा पछाडि भएकाले राजस्व बढाउन कृषि, वनपैदावर उद्योगलाई तत्काल उत्पादन गर्न आवश्यक रहेको बताए। अहिले कर्णाली सरकारले शिक्षा, स्वास्थ्य, रोजगार त्यसका लागि पूर्वाधार तयार गर्दै आएको बताए।
उनले जुम्ला खस भाषाको जन्मस्थल मात्रै नभई भूगोल र उत्पादनको हिसाबले भरोसाको जिल्लाको सम्भावनालाई चुम्नुपर्नेमा जोड दिए।
कर्णाली विकास आयोगका संस्थापक अध्यक्ष डाक्टर कलबहादुर रोकायाले जुम्लाको विविध विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए। कार्यक्रममा पूर्वमन्त्री नरेश भण्डारी, जिल्ला समन्वय समिति प्रमुख गौरीनन्द आचार्य, प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरे, जिल्ला कृषि विकास कार्यालयका प्रमुख गणेश अधिकारी, नेपाली कांग्रेसका जिल्ला सचिव अर्जुनसिंह कठायत, एमालेका पार्टी सचिव धनकृष्ण पाण्डे लगायत बोलेका थिए।
प्रतिक्रिया