एक महिनामै विदेशमा रहेका ५९ हजार श्रमिक सामाजिक सुरक्षामा आबद्ध

एक महिनामै विदेशमा रहेका ५९ हजार श्रमिक सामाजिक सुरक्षामा आबद्ध

Actpro

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । वैदेशिक क्षेत्रका श्रमिक सामाजिक सुरक्षा योजनामा आबद्ध
हुनेक्रम बढेको छ । योजना शुभारम्भ भएको एक महिनाको अवधिमा मात्रै ५८ हजार
९८६ वैदेशिक क्षेत्रका श्रमिक योजनामा आबद्ध भएका सामाजिक सुरक्षा कोषका
सहप्रवक्ता रोहित रेग्मीले जानकारी दिए ।

हालसम्म औपचारिक क्षेत्रका करिब ४ लाख ५ हजार उक्त कोषमा आबद्ध भएका छन्
। सरकारले गत चैत ८ गतेदेखि वैदेशिक रोजगारीमा रहेका तथा विदेशमा
स्वरोजगारमा रहेका श्रमिकलाई सामाजिक सुरक्षा योजनामा समेट्न थालेको थियो ।

वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई समेत कोषमा आबद्ध गर्दै योगदानमा
आधारित सामाजिक सुरक्षाको दायरा विस्तार गर्ने लक्ष्यअनुसार उक्त कार्य
सुरु गरिएको हो ।

सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई सामाजिक सुरक्षा योजनामा
आबद्धता अनिवार्य गरेको छ । विदेश जाने श्रमिकले श्रम स्वीकृति लिने क्रममा
सामाजिक सुरक्षा योजनामा आबद्धता जनाउनुपर्ने व्यवस्था गरिएको छ । यस्तै
श्रम स्वीकृतिको नवीकरणका क्रममा वैदेशिक रोजगारीमा रहेका श्रमिक पनि कोषमा
अनिवार्य दर्ता हुनुपर्छ ।

गत चैत महिनामा मात्रै वैदेशिक रोजगारीका लागि ६१ हजार ४७८ नेपालीले
श्रम स्वीकृति लिएका वैदेशिक रोजगार विभागले जनाएको छ । हाल दैनिक करिब २
हजार जनाले श्रम स्वीकृति लिने गरेका छन् । श्रम स्वीकृति लिनेले कोषमा एक
महिनाको योगदान रकम जम्मा गर्नुपर्ने व्यवस्था छ । वैदेशिक क्षेत्रका
श्रमिकबाट मात्रै रु ८ करोड ५० लाख बढी योगदान सङ्कलन भएको सहप्रवक्ता
रेग्मीले जानकारी दिए ।

वैदेशिक रोजगारीमा जाने श्रमिकले ६ महिनाको योगदान रकम जम्मा गर्दा १०
प्रतिशत छुट पाउने कोषले जनाएको छ । विदेशमा रहेका श्रमिकले कोषको
वेबसाइटबाट सूचीकरण गरी योगदान रकम जम्मा गर्न सक्नेछन् । कोषमा नियमित
योगदान गर्ने वैदेशिक क्षेत्रका श्रमिकले दुर्घटना तथा अशक्तता सुरक्षा
योजना, आश्रित परिवार सुरक्षा योजना र वृद्धावस्था सुरक्षा योजनाबाट लाभ
लिन सक्नेछन् ।

स्वीकृत कार्यविधिबमोजिम वैदेशिक रोजगारीमा रहेका वा विदेशमा स्वरोजगार
रहेका श्रमिकले कम्तीमा आधारभूत पारिश्रमिकको २१.३३ प्रतिशत रकम अर्थात्
न्यूनतम रु २ हजार मासिकरूपमा र अधिकतम त्यसको तीन गुणासम्म कोषमा योगदान
गरी सुविधामा सहभागी हुन सक्नेछन् ।

Recent Comments

No comments to show.