‘मिनी ग्रेटवाल’: पर्यटकको आकर्षण बढ्दो

‘मिनी ग्रेटवाल’: पर्यटकको आकर्षण बढ्दो

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

तनहुँ । बन्दीपुर गाउँपालिका–२ स्थित थानीमाई मन्दिरबाट सुरु गरिएको ‘मिनी ग्रेटवाल’ को हालसम्म एक हजार तीन सय मिटर दूरी निर्माण कार्य सम्पन्न भएको छ ।

प्राकृतिक दृश्यावलोकन र सुन्दरताका कारण ‘पहाडकी रानी’ उपनामले प्रसिद्धी कमाएको बन्दीपुरमा करिब दुई किलोमिटर दूरीको लामो ‘मिनी ग्रेटवाल’ निर्माण गर्ने योजनाअनुरूप निर्माण कार्य अघि बढाइएको हो ।

चीनको जस्तै झझल्को दिने गरी मिनी ग्रेटवाल निर्माण कार्य अघि बढाइएको हो । बन्दीपुर गाउँपालिका कार्यालयले सुरुमा रु एक करोड खर्च गरी निर्माण गरेको मिनी ग्रेटवाल पर्यटकको पहिलो आकर्षण बन्ने विश्वास गरिएको छ ।

चालु आवमा पनि रु ३७ लाख बजेट विनियोजन गरिएको गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले जानकारी दिए । कश्याप कन्स्ट्रक्सन प्रालिले निर्माणको ठेक्का पाए पनि निर्माण कार्यमा ढिलासुस्ती हुँदो लक्ष्यअनुरूपको काम हुन नसकेको अध्यक्ष थापाले बताए ।

अन्य दिनमा करिब एक सय जनाको हाराहारीमा आन्तरिक एवं बाह्य पर्यटक घुम्न आउने गरे पनि बिदाको दिनमा दुई सयदेखि तीन सयसम्म हुने गरेको उनले बताए ।

“हालसम्म निर्माण गरिएको मिनी ग्रेटवाल फिनिसिङ कार्य सम्पन्न गरेर मात्रै नयाँ ग्रेटवाल निर्माण गर्ने योजना बनाएका छौँ”, उनले भने, “अब निर्माण गरिने क्षेत्रमा भौगोलिक दृष्टिकोणले अप्ठ्यारो रहेकाले निर्माण कार्य पनि ढिलाइ हुने देखिएको छ ।”

उक्त दूरीको मिनी ग्रेटवाल फिनिसिङपश्चात् गाउँपालिकाले छलफल गरी टिकट शुल्क कायम गरेर मात्रै पर्यटकलाई प्रवेश अनुमति दिने लक्ष्य बनाएको छ । कूल लागत रु सात करोड रहेकाले बहुवर्षीय कार्यक्रमअन्तर्गत योजनाअनुरूप निर्माण कार्य अघि बढाइएको उनले जानकारी दिए ।

नेपाल सरकारको रु चार करोड ५५ लाख र बन्दीपुर गाउँपालिकाको रु दुई करोड ४५ लाख साझेदारी रहेको सो गाउँपालिकाले जनाएको छ ।

उक्त विनियोजित बजेटले पर्खाल निर्माण गर्ने, पार्क, कफी शप, होटललगायतका संरचना निर्माण गर्ने योजना छ । दुईतिर पर्खाल लगाउने र बीचमा आकर्षक सिँढी निर्माण गरी दायाँबायाँ आकर्षक बत्ती जडान गर्ने योजना रहेको उनले बताए ।

मुकुन्देश्वरी डाँडामा तत्कालीन राजा मुकुन्द सेनले शासन गरेको किंवदन्ती रहेको पाइन्छ । मिनी ग्रेटवालभित्र रहेको पदमार्गमा घोडाबाट र साइकलबाट सवार गर्न सकिने छ । काठमाडौँ, पोखरा र सौराहा जस्ता पर्यटकीय केन्द्रका बीचमा रहेको बन्दीपुरलाई पनि पर्यटकीय गन्तव्यस्थलका रूपमा विकास गर्न सकिने प्रचुर सम्भावना रहेको छ ।

जिल्लाको डुम्रे बजारबाट नौ किलोमिटर नागबेली उकालो यात्रा तय गरेपछि बन्दीपुर पुग्न सकिन्छ । यहाँबाट मनोरम हिमशृङ्खला, पहाड र टाकुरा अवलोकन गर्न सकिने हुनाले यहाँ पुग्ने जो कोही पर्यटक लट्ठै हुने गर्दछन् । रासस

Recent Comments

No comments to show.