सात प्रतिशतले बढ्यो धान उत्पादन,४ लाख ८० हजार मेट्रिक टन चामल आयात गर्नुपर्ने

सात प्रतिशतले बढ्यो धान उत्पादन,४ लाख ८० हजार मेट्रिक टन चामल आयात गर्नुपर्ने

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८० मा धान उत्पादन ६.९४ प्रतिशतले वृद्धि हुने अनुमान गरिएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार यो वर्ष धान उत्पादन वृद्धि हुने देखिएको हो ।

गत वर्ष बाली भित्र्याउने समयमा परेको बेमौसमी वर्षाका कारण तराईका विभिन्न जिल्लामा खेती नष्ट हुँदा देशमा धानको उत्पादन ५१ लाख ५१ हजार मेट्रिक टनमा सीमित भएको थियो। बितेको सालको तुलनामा यो वर्ष धान उत्पादन बढे पनि दुई वर्षअघिको तहमा पुग्न सकेको छैन।

गत वर्ष लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक लाखभन्दा बढी हेक्टरमा लगाइएको धानवालीमा क्षति भएकाले धान उत्पादन घटेको थियो । यो वर्ष त्यस्तो क्षति नभएकाले पनि उत्पादनमा वृद्धि हुने अनुमान छ ।

गत वर्षकोभन्दा यो वर्ष तीन लाख ५५ हजार ८४७ मेट्रिकटन बढी धान उत्पादन हुने मन्त्रालयले जानकारी दिएको छ । गत आर्थिक वर्षमा ५१ लाख ३० हजार ६२५ मेट्रिक टन धान उत्पादन भएको थियो भने चालु आर्थिक वर्षमा ५४ लाख ८६ हजार ४७२ मेट्रिक टन धान उत्पादन हुने अनुमान मन्त्रालयको छ ।

विशेषगरी तराईका जिल्लाहरूमा रासायनिक मलको उपलब्धता भएको, उन्नत बीउको प्रयोग वृद्धि भएको र स्थानीय तहसम्म कृषि प्राविधिकको पहुँचमा वृद्धि भएका कारण पनि धान उत्पादनमा वृद्धि हुने देखिएको छ ।

गत वर्ष धान उत्पादन ८.७४ प्रतिशतले कमी आएको थियो । पछिल्लो ७ वर्षको धान उत्पादनको वृद्धि हेर्दा २०७५/७६ मा ८.८९ प्रतितले वृद्धि भएको थियो ।

धान नेपालको प्रमुख कृषि बाली मात्र होइन, अर्थतन्त्रको एउटा सहायक खम्बा पनि हो। मन्त्रालयका अनुसार, कुल कृषि क्षेत्रको अर्थतन्त्रमा धानले १३ प्रतिशत हिस्सा ओगट्छ भने देशको कुल गार्हस्थ्य उत्पादनमा यसको हिस्सा चार प्रतिशत छ।

नेपालमा यो वर्ष उत्पादन भएको धानले नपुग्ने र चार लाख ८० हजार मेट्रिक टन चामल आयात गर्नुपर्ने मन्त्रालयले आकलन गरेको छ। नेपालले बर्सेनि अर्बौं रुपैयाँको धान चामल आयात गर्दै आएको छ। यो वर्षको मंसीरसम्म पनि १२ अर्ब ६५ करोड मूल्यको धान चामल आयात भइसकेको छ।

Recent Comments

No comments to show.