‘भेलु बाजे’लाई पैसा दिएको भन्दै सूर्य थापालाई आयोगको २४ घण्टे स्पष्टीकरण

‘भेलु बाजे’लाई पैसा दिएको भन्दै सूर्य थापालाई आयोगको २४ घण्टे स्पष्टीकरण

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । निर्वाचन आयाेगले एमालेका प्रतिनिधिसभा उमेदवार सूर्यबहादुर थापालाई पुन: स्पष्टीकरण साेधेकाे छ ।

प्युठानबाट उमेदवारी दिएका थापालाई मीनबहादुर बुढा (भेलुबाजे) लाई दुईहजार रुपैयाँ दिएर आफ्नो निर्वाचन प्रचारप्रसार गराएको भन्ने व्यहोराको समाचार प्रकाशन भएकोप्रति ध्यानाकर्षण भई स्पष्टीकरण सोधिएको आयोगले शुक्रबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

केहीदिनअघि भेलु बाजेले थापालाई मत मागेका थिए। लगत्तै अर्कोदिन उनले थापाले २ हजार दिएकाले मत मागिदिएको अभिव्यक्ति दिएका थिए।

भेलु बाजेको उक्त अभिव्यक्तिले आयोगले आफ्नो ध्यानाआर्कषण भएको उल्लेख गरेको छ। थापालाई कुनै व्यक्ति वा संस्थालाई नगद वा जिन्सी वितरण गर्न, अनुदान, आर्थिक सहायता, चन्दा, पुरस्कार वा निर्वाचन खर्च वा बुथ खर्च दिन वा दिने घोषणा गर्न नहुने बताउँदै उनलाई २४ घण्टाभित्र स्पष्टीकरण बुझाउन निर्देशन दिएको छ।

निर्वाचन (कसूर तथा सजाय) ऐन, २०७३ को दफा २१ को उपदफा (१) मा ‘उम्मेदवार वा निर्वाचन प्रतिनिधि वा अन्य कुनै व्यक्तिले निर्वाचन अवधिभित्र कुनै मतदातालाई निजको मतदानको अधिकार प्रयोग गर्न वा नगर्नको लागि वा मतदानको अधिकार प्रयोग गरे वा नगरे वापत उपहार, पुरस्कार, इनाम, दानदातव्य वा वकसको रुपमा नगद वा जिन्सी दिन वा दिन मञ्जुर गर्न वा सार्वजनिक भोज आयोजना गर्न र मतदाताले पनि त्यस्तो प्रयोजनको लागि त्यस्तो नगद वा जिन्सीलिन वा लिन मञ्जुर गर्न र सार्वजनिक भोजमा सहभागी हुन हुँदैन’ भन्ने व्यवस्था छ । 

निर्वाचन आचारसंहिता, २०७९ को दफा १३ को उपदफा (१) को खण्ड (झ) मा राजनीतिक दल, उम्मेदवार, दलको भातृ संगठन तथा सम्बन्धित व्यक्तिले जुलुस, आमसभा, कोणसभा, बैठक, भेला वा निर्वाचन प्रचारप्रसार सम्बन्धी कार्य गर्दा पालना गर्नुपर्ने आचरण अन्तर्गत ‘विभिन्न क्लब, सामाजिक संस्था, धार्मिक संस्था, आमा समूह, गैरसरकारी संस्था, आश्रम जस्ता संस्था वा कुनै व्यक्तिलाई नगद वा जिन्सी वितरण गर्न, अनुदान, आर्थिक सहायता, चन्दा, पुरस्कार वा निर्वाचन खर्च वा बुथ खर्च दिन वा दिने घोषणा गर्न नहुने’ व्यवस्था छ।

स्पष्टीकरणमा भनिएको छ, ‘उपरोक्त बमोजिम निर्वाचन आचारसंहिताका उल्लेखित व्यवस्थाको प्रतिकूल हुने गरी तपाईंले मीनबहादुर बुढा (भेलुबाजे) लाई नगद वितरण गर्नु भएको हो, होईन? तपाईंले निज मीनबहादुर बुढा (भेलुबाजे) लाई नगद रकम वितरण गरेको भए निर्वाचन आचारसंहिताको उल्लंघनमा तपाईंलाई किन कारवाही हुनु नपर्ने हो? यो पत्र प्राप्त भएको २४ घण्टाभित्र निर्वाचन आयोगको इमेल ठेगाना [email protected] मा वा जिल्ला निर्वाचन कार्यालय प्यूठानमा प्राप्त हुने गरी लिखित स्पष्टीकरण पेश गर्नुहुन निर्णयानुसार निर्देशन दिइएको छ ।

Recent Comments

No comments to show.