महँगी ८.५० प्रतिशत बढ्यो, फलफूल, मदिरा र दुग्ध पदार्थ मूल्यवृद्धि उच्च

महँगी ८.५० प्रतिशत बढ्यो, फलफूल, मदिरा र दुग्ध पदार्थ मूल्यवृद्धि उच्च

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । असोज महिनामा मूल्यवृद्धि ८.५० प्रतिशत पुगेको छ।

नेपाल राष्ट्र बैंकको चालू आर्थिक वर्षको तीन महिनाको तथ्यांकको आधारमा प्रकाशित गरेको मुलुकको आर्थिक तथा वित्तीय अवस्थाको प्रतिवेदनको तथ्यांक यस्तो देखिएको हो ।

केन्द्रीय बैंकका अनुसार २०७९ असोजमा मूल्यवृद्धि उक्त परिमाणबराबर थियो। अघिल्लो वर्ष सोही अवधिमा भने ४.२४ प्रतिशतमात्र थियो।

समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मूल्यवृद्धि ८.०५ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मूल्यवृद्धि ८.८५ प्रतिशत थियो।

गत वर्ष असोजको दाँजोमा यसपालि असोजमा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत रेस्टुरेन्ट तथा होटल उपसमूहको मूल्यवृद्धि १५ं९१ प्रतिशत, फलफूलको १२.०६ प्रतिशत, मदिराजन्य पेय पदार्थको १०.२४ प्रतिशत, दुग्ध पदार्थ तथा अन्डाको ९.४५ प्रतिशत सुर्तिजन्य पदार्थको ८.४४ प्रतिशत छ।

त्यसैगरी गैरखाद्य तथा सेवा समूहअन्तर्गत यातायात उपसमूहको मूल्यवृद्धि २१.१५ प्रतिशत, स्वास्थ्यको १०.५४, फर्निसिङ तथा घरायसी उपकरणको ९.४५, शिक्षाको ८.११ र घरायसी उपयोगका वस्तुको मूल्यवृद्धि ७.६८ प्रतिशत छ।

गत असोजमा काठमाडौं उपत्यकामा ६.९३ प्रतिशत मूल्यवृद्धि थियो। तराईमा ९.४२ प्रतिशत, पहाडमा ८.८४ प्रतिशत र हिमालमा ७.०७ प्रतिशत थियो। गत वर्ष असोजमा भने काठमाडौं उपत्यकामा ३.४८ प्रतिशत, तराईमा ४.०१, पहाडमा ५.६८ र हिमालमा ३.१२ प्रतिशत मूल्यवृद्धि थियो।

२०७९ असोज महिनामा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति १३.७३ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ३.८३ प्रतिशत रहेको थियो ।

समीक्षा महिनामा उपभोग्य वस्तु, मध्यवर्ती वस्तु र पुँजीगत वस्तुको थोक मूल्यवृद्धि क्रमशः १०.२४ प्रतिशत, १७.१३ प्रतिशत र ६.०० प्रतिशत रहेको छ । समीक्षा महिनामा निर्माण सामग्रीको थोक मूल्यवृद्धि १९.२७ प्रतिशत रहेको छ ।

२०७९ असोज महिनामा वार्षिक बिन्दुगत तलब तथा ज्यालादर सूचकाङ्क ११.५९ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही महिनामा उक्त सूचकाङ्क ४.९२ प्रतिशतले बढेको थियो । समीक्षा महिनामा तलब सूचकाङ्क र ज्यालादर सूचकाङ्क क्रमशः १२.३९ प्रतिशत र ११.३४ प्रतिशतले बढेको छ ।

Recent Comments

No comments to show.