सन्दीपविरुद्ध मुद्दामा आजदेखि थुनछेक बहस,पुर्पक्षका लागि थुनामा पठाउने सम्भावना उच्च

सन्दीपविरुद्ध मुद्दामा आजदेखि थुनछेक बहस,पुर्पक्षका लागि थुनामा पठाउने सम्भावना उच्च

Actpro

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेविरुद्ध जिल्ला अदालत (काठमाडौं) मा दर्ता बलात्कार मुद्दामा आज (मंगलबार) देखि थुनछेक बहस हुँदै छ।    

बालिका बलात्कार अभियोगमा लामिछानेविरुद्ध आरोप पुष्टि हुने प्रमाण देखिएको दाबीसहित सोमबार जिल्ला सरकारी वकिल कार्यालय (काठमाडौं) ले प्रहरी हिरासतमा रहेका लामिछानेविरुद्ध मुद्दा दर्ता गराएको हो।

प्रहरीले बुझाएको अनुसन्धान प्रतिवेदन र प्रमाणका आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले मुद्दा दायर गरेको हो।

अदालतमा अभियोग पत्र पुगेसँगै सन्दीपलाई सोमबार जिल्ला अदालत (काठमाडौं) मा उपस्थितसमेत गराइएको छ।

आज उनविरुद्धको मुद्दामा थुनछेक बहस सुरु हुने छ। तत्काल उपलब्ध प्रमाणबाट दोषी देखिएमा अदालतले सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिनेछ। त्यस्तो आदेश आएमा मुद्दाको अन्तिम किनारा नलागेसम्म सन्दीप जेलमा हुनेछन्।

अदालतमा बुझाएको अभियोजन पत्रमा मुख्य प्रमाणका रूपमा होटलका सीसीटीभी फुटेज बुझाइएको छ। प्रहरीले अदालतमा मुद्दासँगै ६ वटा प्रमाण बुझाइएको छ।

प्रहरीले बुझाएको प्रमाणका रूपमा १२ वटा सीसीटीभी फुटेज छन्। ती सबै फुटेज काठमाडौंको गौशालास्थित होटल काठमाडौं इनका हुन्। १२ वटा फुटेजसहितको पेनड्राइभ प्रहरीले बुझाएको हो।

यस्तै होटलको गेस्ट रजिस्ट्रार कार्ड पनि अदालतमा पेस गरिएको छ। अर्को प्रमाणका रूपमा सन्दीपले किशोरीलाई स्न्यापच्याटमा पठाएको म्यासेज छ। उनले किशोरीलाई मायाको चिह्नसहित पठाएको म्यासेजमा लेखिएको छ, ‘मायाको पहिलो सौगात।’

नगरकोर्टको बोजिनी रिसोर्टमा सन्दीपले तिरेको बिल भर्पाई पनि प्रमाणका रूपमा प्रहरीले अदालतमा बुझाएको छ। यस्तै ल्याबमा परीक्षण गरेर फिर्ता गरिएका उपकरणहरु भौतिक प्रमाणका रुपमा अदालतमा बुझाइएको छ। अर्को प्रमाण सन्दीप लामिछानेकै स्वास्थ्य परीक्षणको रिपोर्ट छ।

यसबाहेक पीडित भनिएकी किशोरीको जाहेरी र बयान लगायत अन्य यस घटनामा जोडिएका सबै बयानलाई पनि प्रहरीले प्रमाणका रुपमा लिएको छ। अदालतमा मुद्दासँगै ८४ वटा कागजात पठाइएको छ।

Recent Comments

No comments to show.