काठमाडौं । नेपाललाई परिचय दिंदा कृषिप्रधान विशेषण झुन्ड्याउन छोडिएको छैन। तथ्याङ्कले पनि दुई तिहाइ जनसङ्ख्या कृषिमै आश्रित भएको देखाउँछ, तर कृषिप्रधान मुलुकमा हरेक वर्ष विदेशबाट आयात हुने कृषिजन्य वस्तुको आयातको ग्राफ भने उकालो चढ्दै गएको छ।
भन्सार विभागले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७८/७९ को तथ्याङ्क अनुसार, गत वर्ष नेपालले तीन खर्ब ७८ अर्ब ६० करोड मूल्यका कृषिजन्य वस्तु आयात गरेको छ। यो वर्ष दिनभर नेपालले विदेशबाट आयात गरेको सम्पूर्ण वस्तुको करीब २० प्रतिशत हो।
आर्थिक वर्ष २०७७/७८ मा नेपालले तीन खर्ब २३ अर्ब ६६ करोड मूल्यको कृषिजन्य वस्तु आयात गरेको थियो। अर्थात्, वर्ष दिनको बीचमा कृषिजन्य वस्तु आयात झण्डै १७ प्रतिशतले बढेको हो।
आर्थिक वर्ष २०७६/७७ मा कृषिजन्य वस्तुको आयात दुई खर्ब ४३ अर्ब थियो। तथ्याङ्कले कृषिजन्य वस्तुको आयात पाँच वर्ष पनि नपुग्दै दोब्बर भएको देखाउँछ।
आर्थिक वर्ष २०७४/७५ मा नेपालले दुई खर्ब चार अर्बको कृषिजन्य वस्तु आयात गरको थियो। आर्थिक वर्ष २०७३/७४ मा कृषिजन्य वस्तुको आयात करीब पौने दुई खर्ब थियो।
भन्सार विभागको तथ्याङ्क अनुसार, गत वर्ष नेपालले ७४ अर्ब २८ करोड मूल्यको अन्न आयात गरेको छ। यसमध्ये धानचामल ४७ अर्ब ५७ करोडको र मकै १९ अर्ब ६५ करोड मूल्यको आयात भएको छ। त्यस्तै, ३६ अर्ब ५४ करोडको तरकारी, झण्डै २५ अर्बको फलफूल आयात भएको छ।
वर्षेनी कृषि जमिन घट्दै गइरहेको छ । घट्दै गएको कृषि जमिनमा खाद्यन्य उत्पादन गरेर आत्म निभर हुने सपना देख्नु निकै चुनौतिपूर्ण रहेको छ ।
खाद्यान्न उत्पादन बढाउन सरकारले बर्सेनि विभिन्न कार्यक्रम सञ्चालन गरे पनि आयात भने प्रतिस्थापन हुन सकेको छैन ।
सरकारले कृषि क्षेत्रको आधुनिकीकरण र व्यावसायीकरण गर्दै खाद्यान्नमा आत्मनिर्भर बन्नका लगि विभिन्न कार्यक्रम सञ्चालन गरिएको छ ।
प्रतिक्रिया