दमौली । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी–मुग्लिन खण्डमा रातिको समयमा पनि एकतर्फी सञ्चालन भएको छ।
आँबुखैरेनी गाउँपालिका–४ पावर हाउस नजिक सडक भासिएपछि शुक्रबार राति ७ बजेदेखि बिहान ५ बजेसम्म यातायात सञ्चालनमा रोक लगाइएको थियो। गएरातिदेखि भने अवरोध हटाएर नियमित सञ्चालनमा आएको हो।
रातिको समयमा यातायात सञ्चालन गर्दा जोखिम हुने भएपछि जिल्ला प्रशासन कार्यालय तनहुँले शुक्रबार र शनिबार राति यातायात सञ्चालनमा रोक लगाएको थियो। आइतबार बेलुकादेखि अवरोध हटाएर सानाठूला र हेभी सवारी साधनसमेत सञ्चालन गराइएको निमित्त प्रमुख जिल्ला अधिकारी काशीराम गैह्रेले बताए।
सडक डिभिजन कार्यालय दमौलीले सडक भासिएको कुनापट्टिबाट भित्ता काटिरहेको छ। सडक मर्मत नहुँदासम्म भासिएको खण्डमा एकतर्फी मात्रै सवारी सञ्चालन भइरहेको छ।
तर मुग्लिन पोखरा सडकखण्ड निर्माणका लागि याम्पाफाँट र घाँसीकुवा सडकखण्डमा राति ११ बजेदेखि बिहान ४ बजेसम्म यातायात आवागमन भने यसअघिको सूचनाअनुसार नै बन्द रहने प्रशासनले जनाएको छ।
प्रतिक्रिया