काठमाडौं । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकामा स्मार्ट सिटी बनाउनका लागि नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) र सिंगापुरको सुरबाना जुरोङ समूह एसजे अन्तर्गतको एसएमईसी इन्टरनेशनल प्रालि बीच समझदारी भएको छ ।
सम्झौतापत्रमा मंगलबार निफ्राका प्रमुख कार्यकारी अधिकृत रामकृष्ण खतिवडा र एसएमईसीका कन्ट्री हेड सलिम जहाँ फहिमले हस्ताक्षर गरेका छन् । निफ्राले सम्झौता गरेको सिंगापुरको सुरबाना जुरोङ समूह सिंगापुरस्थित ग्लोबल शहरी पूर्वाधार परामर्श फर्म हो।
सम्झौता अनुसार एसएमईसीले प्रस्तावित स्मार्ट सिटीको निर्माण गर्नका लागि प्रारम्भिक अध्ययन, परियोजनाको संरचनागत खाका एवं अन्तर्राष्ट्रिय सफल अभ्यासहरु अध्ययन विश्लेषण सम्बन्धी कार्यहरुमा सहकार्य गर्ने छ भने त्यसमा निफ्राले एसजेलाई सहजीकरण गर्ने जनाइएको छ ।
निफ्राले पाँचखालमा नमूना परियोजनाका रुपमा नेपालमै पहिलोपटक स्मार्ट सिटी निर्माण गर्न लागेको हो । स्मार्ट सिटी विकासका लागि निफ्राले यसअघि नै पाँचखाल नगरपालिकासँग पनि सम्झौता गरिसकेको छ ।प्रस्तावित स्मार्ट सिटी ४५०० रोपनीमा निर्माण हुनेछ। कुल क्षेत्रफलमध्ये ६५० रोपनी जमिन नगरले आफ्नो स्वामित्वबाट उपलब्ध गराउनेछ ।
स्मार्ट सिटीमा सबै क्षेत्रमा विद्युत्, विद्यालय, कलेज, अस्पताल, विविध पार्क, बजार, ढल–निकास, बसपार्क तथा सिनेमा हलजस्ता सुविधा हुनेछन् ।
विसं २०७१ मा साविक पाँच गाविस जोडेर पाँचखाल नगरपालिका बनाइएकामा तीन वर्षअघि पनि दुई गाविस थपेर अझ वृहत बनाइएको थियो । तेह्र वडामा विभाजित नगरपालिकाको कुल क्षेत्रफल १०३ वर्ग किलोमिटर रहेको र त्यसभित्र हाल ३५ हजार ९९२ नागरिकको बसोबास रहेको छ ।
प्रतिक्रिया