पुनर्निर्माण बाँकी काम समयमै सम्पन्न गर्न प्रधानमन्त्रीको निर्देशन

पुनर्निर्माण बाँकी काम समयमै सम्पन्न गर्न प्रधानमन्त्रीको निर्देशन

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।प्रधानमन्त्री शेरबहादुर देउवाले भूकम्पपछिको पुनर्निर्माणका बाँकी काम समयमै सम्पन्न गर्न निर्देशन दिएका छन् ।

प्रधानमन्त्री देउवाले बुधबार राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको निर्देशक समितिको बैठकमा पुनर्निर्माणका लागि बजेटको कुनै कमी हुन नदिने बताउँदै समयमै काम सक्न निर्देशन दिएका हुन् ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण निर्देशक समितिका अध्यक्ष समेत रहेका प्रधानमन्त्री देउवाले नेपालको पुनर्निर्माणमा सहयोग पुर्‍याउने सम्पूर्ण राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायलाई धन्यवाद ज्ञापन गर्दै हस्तान्तरण भएका बाँकी काम समयमै सम्पन्न गर्न समेत सम्बन्धित निकायलाई निर्देशन दिए ।

२०७२ को भूकम्पबाट क्षतिग्रस्त संरचनाहरुको पुनर्निर्माण तथा विस्थापित परिवारहरुको पुनर्स्थापनासम्बन्धी कार्यहरुलाई सफलतापूर्वक सम्पन्नताको चरणमा पुर्‍याएकोमा समितिले प्राधिकरणको नेतृत्व तथा सम्पूर्ण प्राधिकरणलाई धन्यवाद ज्ञापन गरेको छ ।

बैठकमा निर्देशक समितिका उपाध्यक्ष एवं नेकपा एमालेका नेता सुवास नेम्वाङले पुनर्निर्माणका अनुभव र सिकाइलाई संस्थागत सम्झनामा राख्न सुझाव दिए ।

निर्देशक समितिका उपाध्यक्ष एवं नेकपा (एमाले) का नेता सुवास नेम्वाङले पुनर्निर्माणका अनुभव र सिकाईलाई संस्थागत सम्झनामा राख्न सुझाव दिंदै विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई थप स्वायत्त र अधिकारसम्पन्न बनाउन उपयुक्त हुने धारणा राखे ।

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले पुनर्निर्माणबाट प्राप्त उपलब्धिहरुको चर्चा गर्दै विपद् उत्थानशील विकासलाई राष्ट्रिय विकास योजनाको अभिन्न अंगका रुपमा लैजानुपर्ने र विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई विशिष्ट कानुनी अधिकारसहित आवश्यक वित्तीय व्यवस्थापनका साथै जनशक्ति उपलब्ध गराउनुपर्ने बताए ।

निर्देशक समितिको बैठकले प्राधिकरण अन्तर्गत भैरहेका कार्य तथा हक, दायित्व, सम्पत्ति, श्रेष्ता, कागजात तथा विवरणको हस्तान्तरण सम्बन्धमा पनि निर्णय गरेको छ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणबाट हस्तान्तरण भई विभिन्न मन्त्रालय, विभाग एवं निकायहरु मार्फत सम्पादन भैरहेका पुनर्निर्माण तथा पुनर्स्थापना सम्बन्धी कार्यहरुको सहजीकरण, समन्वय तथा अनुगमन सम्बन्धी कार्यहरु अब राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत् हुने भएको छ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण अन्तर्गतको चालु र पुँजीगत खर्चको आव ०७८/७९ को एकीकृत आर्थिक विवरण तयार गर्ने कार्य तथा लेखा परीक्षण सम्बन्धी कार्यहरुको जिम्मेवारी पनि यसै प्राधिकरणलाई दिइएको छ ।यसका साथै विश्व बैँकसँगको सम्झौता बमोजिम कार्यान्वयन भैरहेका भूकम्पीय आवास पुनर्निर्माण आयोजना तथा एमडिटिएफसँग सम्बन्धित प्राविधिक सहयोग, सोधभर्नार प्रतिवेदन सम्बन्धि कार्य पनि अब राष्ट्रिविपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले हेर्नेछ ।

हाल पुनर्निर्माण प्राधिकरणले प्रत्यक्ष हेरिरहेको धरहरा, सिंहदरबार, रानीपोखरीको शान्तिबाटिका खण्ड, हरिहर भवन तथा नारायणहिटी संग्रहालय अन्तर्गतको रणोद्विप दरबारको भौतिक निर्माणको कार्य शहरी विकास मन्त्रालय अन्तर्गतको शहरी विकास तथा भवन निर्माण विभागले हेर्नेछ भने पुनर्निर्माण सम्पन्न भएको रानीपोखरी काठमाडौं महानगरपालिकाको कार्यालयलाई हस्तान्तरण हुनेछ ।

केन्द्रीय आयोजना कार्यन्वयन इकाई (भवन), केन्द्रीय आयोजना कार्यन्वयन इकाई (शिक्षा) र केन्द्रीय आयोजना कार्यन्वयन इकाई (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार) अन्तर्गत सम्बन्धित श्रेष्ता तथा कागजात सम्बन्धित मन्त्रालय एवं विभागमा भदौ अन्तिम साता हस्तान्तरण भइसकेका छन् ।

भूकम्पबाट प्रभावित संरचनाहरुको पुनर्निर्माण सम्बन्धी ऐन, २०७२ को दफा ३(३) को व्यवस्था तथा सो अनुरुप नेपाल सरकार मन्त्रिपरिषद्को मिति २०७७ मंसिर १५ गतेको निर्णय अनुसार राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको कार्यकाल यही पुस ९ गतेबाट सकिंदैछ ।

Recent Comments

No comments to show.