नेपाल समुन्द्रपार निकासी पैठारी संघको ४० औं वार्षिक साधारण सभाको अवसरमा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले नेपालबाट निर्यात हुने हरेक सामानको निकासी घट्दै गएको बताएका छ्न ।
साधारण सभामा गाेल्छाले प्रस्तुत गरेकाे आँकडा अनुसार अलैची २०१७/१८ मा ४ अर्ब ८४ करोडको निर्यात भएकाेमा गत वर्ष ५६ करोडले घटेर ४ अर्ब २८ करोडमा सिमित भएको छ । यस्तै अदुवा ७० करोडबाट ४० करोडमा झर्यो, तयारी पोशाक पनि वार्षिक ५० करोड रुपैयाँको गिरावट आएको छ ।
उनले निर्यात तीव्र गतिमा घटेकाले व्यापार घाटा बढ्ने बताए । तर सरकारकाे तर्फबाट व्यापार घाटा कम गर्ने तर्फ काम हुन नसकेकाेमा उनले असन्ताेष जाहेर गरे ।
कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले भन्सारमा ई– पेमेन्टको व्यवस्था गर्नुपर्ने माग गरे । उनले भन्सारमा व्यवसायीले पैसा बोकेर जानुपर्ने अवस्थाको अन्त्य हुनुपर्ने बताए । सरकारले ई–पेमेन्ट कायम गर्न नसके भन्सारमै खाता खोली व्यवसायीले कारोबार गर्न पाउन व्यवस्था गर्न सरकारसँग उनले आग्रह गरे ।
कार्यक्रममा अर्थमन्त्री डा युवराज खतिवडाले सय रुपैयाँको मूल्यको वस्तुको आयात गर्दा बैंकहरुमार्फत् कम मूल्यमा एलसी खोलाउने र सोही अनुसार वस्तु ल्याउने भएकाले अब बैंकहरुलाई नै वास्तविक मूल्यमा एलसी खोल्न निर्देशन दिइएको कार्यक्रममा बताए ।वास्तविक मूल्यमा एलसी खोलिएपछि भन्सारले बिल हेर्दै पास गर्ने दिन समेत आउने मन्त्री खतिवडाले बताए ।
प्रतिक्रिया