न्यादीको विद्युत् कात्तिकदेखि राष्ट्रिय ग्रिडमा जोडिने

न्यादीको विद्युत् कात्तिकदेखि राष्ट्रिय ग्रिडमा जोडिने

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । लमजुङको मर्स्याङ् गाउँपालिका-६ बाहुनडाँडास्थित ङादी खोलामा निर्माणाधीन ३० मेगावाटको न्यादी जलविद्युत् आयोजनाले कात्तिकदेखि विद्युत् उत्पादन सुरु गर्ने भएको छ । आयोजनाको ९९ प्रतिशत निर्माण पूरा भएसँगै न्यादीको बिजुली दुई महिनाभित्र राष्ट्रिय प्रसारण प्रणालीमा जोडिन लागेको हो ।

आयोजनाको ९९ प्रतिशत निर्माण पूरा भएकाले तालिकाअनुसार नै विद्युत् उत्पादन सुरु हुने न्यादी हाइड्रोपावर कम्पनीका प्रमुख कार्यकारी अधिकृत उत्तम अमात्यले बताए । यसअघि जेठमै उत्पादनको तयारी गरे पनि कोरोनाका कारण ढिलाइ भएको बताइएको छ ।

आयोजनाको बाँध क्षेत्र, सुरुङ तथा टनेल र पावर हाउसको निर्माण कार्य सकिएको आयोजनाका इन्जिनियर लक्ष्मीप्रसाद जोशीले बताए । अब आयोजनाको ट्रान्समिसन लाइनको काम मात्र बाँकी रहेको जोशीको भनाइ छ । उनका अनुसार हाल ट्रान्समिसन लाइनको केबल कनेक्सनको काम भइरहेको छ ।

उत्पादित विद्युत्‌का लागि प्रसारण लाइनसमेत नहुँदा परीक्षण उत्पादनसमेत रोकिएको छ । मर्स्याङ्दी करिडोरमा निर्माण हुने भनिएको २२० केभी राष्ट्रिय प्रसारण लाइन र सबस्टेसनको निर्माण कार्य ढिलो हुने भएसँगै आयोजनाले आफ्नै लगानीमा १३२ केभी प्रसारण लाइन निर्माण गरेको छ ।

नेपाल विद्युत् प्राधिकरणले ट्रान्समिसन लाइन निर्माण नगरेकाले वैकल्पिक रूपमा माथिल्लो मर्स्याङ्दी ‘ए’को विद्युत्‌गृहभन्दा केही तल १३२ केभी भुलभुले-मर्स्याङ्दी प्रसारण लाइनमा जोड्ने गरी आयोजनाले टारीकुनासम्म नौ किलोमिटर प्रसारण लाइन निर्माण गरी केबल कनेक्सनको काम गरिरहेको छ ।

आयोजनाको निर्माण चिनियाँ कम्पनी चचियाङ हाइड्रोपावर कन्स्ट्रक्सन एन्ड इन्स्टलेसन कम्पनीले गरेको छ । नदीको बहावमा आधारित यस आयोजनाबाट वार्षिक १६८ गिगावाट/आवर विद्युत् उत्पादन गरी नेपाल विद्युत् प्राधिकरणलाई बिक्री गरिनेछ ।

आयोजनाले विद्युत् प्राधिकरणसँग प्रचलित ‘पोस्टेड’ दरअनुसार वर्षायाममा चार रुपैयाँ ८० पैसा र सुक्खायामका लागि आठ रुपैयाँ ४० पैसामा विद्युत् खरिद सम्झौता (पीपीए) गरेको छ । ३० मेगावाटको यो आयोजना सम्पन्न गर्न छ अर्ब रुपैयाँ लाग्ने अनुमान छ । आयोजना पूरा भएपछि उत्पादन हुने विद्युत् २२० केभी मर्स्याङ्दी कोरिडोर प्रसारण लाइनको खुदी सबस्टेसनमा लगेर जोडिनेछ ।

Recent Comments

No comments to show.