काभ्रेका चार स्थानीय तह कोरोनामुक्त

काभ्रेका चार स्थानीय तह कोरोनामुक्त

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काभ्रेपलाञ्चोक । यहाँका चार स्थानीय तह कोरोना संक्रमणमुक्त भएका छन् । एक नगर र तीन गाउँपालिका कोरोना संक्रमणमुक्त भएका हुन् भने पछिल्लो दुई दिनदेखि जिल्लामा थप संक्रमण देखिएको छैन ।

कोरोनामुक्त हुनेमा मण्डनदेउपुर नगरपालिका तथा रोशी, तेमाल र खानीखोला गाउँपालिका छन् । चौँरीदेउराली र महाभारत गाउँपालिकामा एक-एक संक्रमित रहेको जिल्लास्थित कोभिड–१९ संक्रमण नियन्त्रण, रोकथाम र उपचारसम्बन्धी केन्द्र ‘डीसीसीएमसी’ले जनाएको छ । केन्द्रका अनुसार पछिल्लो दुई दिनदेखि जिल्लामा थप संक्रमण नपाइएको हो । आइतबार २६ र शनिबार १५ संक्रमित संक्रमणमुक्त भएका छन् ।

काभ्रेमा छ नगर र सात गाउँपालिका छन् । जिल्लामा हाल १०१ सक्रिय संक्रमितमध्ये बनेपा नगरपालिकामा ३३, पाँचखालमा १६, धुलिखेलमा १८, पनौतीमा १०, नमोबुद्धमा ११ तथा भुम्लु सात र बेथानचोक गाउँपालिकामा चार संक्रमित रहेको केन्द्रले जनाएको छ ।

केन्द्रअनुसार यसअघि केही दिनको केन्द्रको तथ्याङ्कले संक्रमणदरभन्दा संक्रमणमुक्तदर अधिक रहेको देखाएको हो । जिल्लामा हालसम्म १४ हजार ४६२ मा संक्रमण देखिएकोमा १९२ को मृत्यु भएको छ । हालसम्मका कूल संक्रमितमध्ये ९८ प्रतिशतअर्थात् १४ हजार १६९ संक्रमणमुक्त भइसकेका छन् । गत भदौ महिनायता नगन्यदरमा संक्रमितको मृत्युका घटना भएको केन्द्रको तथ्याङ्कले देखाएको छ ।

जिल्ला प्रशासन कार्यालयले हाल जिल्लामा यही असोज ५ गतेसम्म १० दिन ‘मिक्स लकडाउन’ थपेको छ । कोरोना संक्रमणको दोस्रो लहर सुरु भएपछि गत वैशाख २० गतेदेखि जिल्लामा निषेधाज्ञा जारी गरिएको थियो । कोरोना संक्रमणदर बढ्दै गएपछि गत जेठमा विभिन्न मितिमा आठ स्थानीय तहले ‘सिल’समेत गर्नुपरेको थियो ।

Recent Comments

No comments to show.