दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि उच्च,खाने तेलमा २८.२० प्रतिशतले मूल्यवृद्धि

दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि उच्च,खाने तेलमा २८.२० प्रतिशतले मूल्यवृद्धि

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । चालु आर्थिक वर्षको १० महिनामा घ्यू तथा तेलमा अत्याधिक मात्रामा मूल्यवृद्धि भएको छ । 

नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा पछिल्लो  १० महिनामा घ्यू तथा तेलमा २८.२० प्रतिशतले मूल्यवृद्धि भएको हो  ।

कोरोनाभाइरस (कोभिड–१९) संक्रमण महामारीबाट आर्थिक चापमा परेका सर्वसाधारण बजारभाउका कारण थप चेपुवामा परेका छन्। पछिल्लो समय खाने तेलसहितका उपभोग्य वस्तुमा अचाक्ली मूल्य बढ्दा उपभोक्ताको खल्तीमा चाप परेको छ।

एक वर्षको अवधिमा खाने तेलको मूल्य करीब ७० प्रतिशतसम्म बढेको छ। निषेधाज्ञा लागेको १६ वैशाखयताको मात्र कुरा गर्ने हो भने डेढ महीनामै तोरीको तेल लिटरमै ३० रुपैयाँ र सूर्यमुखी तेलको २५ रुपैयाँसम्म बढेको छ।

नेपाल खुद्रा व्यवसायी संघका अनुसार बजारमा तोरी, भटमास र सूर्यमुखी तेलको मूल्य ब्रान्ड अनुसार फरक छ। अहिले धारा तोरीको तेल प्रतिलिटर रू.३३० छ। धारा हेल्थ २९५, भटमासको २५० र सूर्यमुखी तेलको मूल्य २७५ रुपैयाँसम्म पुगेको छ। जब कि गत वर्षको जेठ–असारमा धारा तेलको मूल्य २१०, भटमासको १४० देखि १६० र सूर्यमुखीको मूल्य अधिकतम १७५ रुपैयाँसम्म थियो। राष्ट्र ब्यांकको तथ्यांकले चाहिँ गत चैतमा घ्यूतेलको मूल्य अघिल्लो वर्षको सोही अवधिका तुलनामा २१.३८ प्रतिशतले मात्र बढेको देखाएको छ।

तेलको मूल्यवृद्धिको आलोचना हुन थालेपछि नेपाल वनस्पति घ्यू–तेल उत्पादक संघले विज्ञप्ति जारी गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिवेशले मूल्य बढाउन बाध्य भएको बताएको छ। अन्तर्राष्ट्रिय बजारमा कच्चा पदार्थको मूल्य बढेकाले त्यसको असर आन्तरिक मूल्यमा परेको संघको भनाइ छ।

मुलुकभर २० वटा ठूला र ३० साना प्रशोधित खाने तेल उद्योगले तोरी, सोयाबिन, सनफ्लावर लगायत तेल उत्पादन गरिरहेका छन्। उत्पादित तेल स्थानीय बजारमा खपत हुनुका साथै निकासी समेत हुन्छ। तर, उत्पादनको लागि आवश्यक कच्चा पदार्थ जस्तैः क्रुड सोयाबिन, क्रुड सनफ्लावर र तोरी ९० प्रतिशत आयात हुन्छ। त्यसमध्ये अधिकांश कच्चा पदार्थ भारतका साथै ब्राजिल, अर्जेन्टिना, क्यानडा, अस्ट्रेलिया, युक्रेन लगायत देशबाट आउँछ। यसरी मुख्य कच्चा पदार्थ अन्तर्राष्ट्रिय बजारबाट आयात गर्नुपर्ने हुँदा त्यस अनुसार तेलको बजारभाउ निर्धारण हुने संघले जनाएको छ। 

खाने तेलमा भन्सार महशुल १० प्रतिशत र मूल्य अभिवृद्धि कर १३ प्रतिशत छ। कच्चा पदार्थको मूल्य दोब्बर बढेका कारण गत वर्ष महशुल सरदर प्रतिलिटर रू.२० रहेकोमा हाल सरदर ४० पुगेको छ। यसले पनि मूल्य बढाउन सघाउ पुर्‍याएको संघले उल्लेख गरेको छ।

त्यस्तै, भारतीय बन्दरगाहबाट ढुवानीमा देखिएको असहजता पनि बजारभाउ प्रभावित हुनुको अर्को कारण भएको व्यवसायीहरू बताउँछन्। नेपालका लागि जहाज आउने हल्दिया बन्दरगाह रहेको पश्चिम बंगाल राज्यमा भएको दुई महीना लामो निर्वाचन र निषेधाज्ञाका कारण त्यहाँबाट नेपालको भन्सारसम्मको ढुवानी असहज र महँगो हुन गएको छ।

अधिकांश कच्चा पदार्थ भारतका साथै ब्राजिल, अर्जेन्टिना, क्यानडा, अस्ट्रेलिया, युक्रेन लगायत देशबाट आउँछ।

सहायक कच्चा पदार्थ र प्याकिङ सामग्रीमा प्रयोग हुने सामानको मूल्य समेत अन्तर्राष्ट्रिय बजारमा अत्यधिक बढेको नेपाल चामल, दाल, तेल उत्पादक संघका अध्यक्ष सुबोधकुमार गुप्ता बताउँछन्। “कोरोना महामारी र निषेधाज्ञाको कारण उद्योग पनि ४० प्रतिशत क्षमतामा मात्रै चलेका छन्, यसले पनि लागत महँगो बनाएको छ,” उनी भन्छन्।

मूल्यवृद्धिकोे अर्को कारण पेट्रोलियम पदार्थको मूल्य पनि हो। इन्धनको मूल्य बढ्दा त्यसले उपभोक्ताको भान्सामा प्रत्यक्ष प्रभाव पर्छ। इन्धनको मूल्यसँगै ढुवानी भाडा बढ्दा समग्र उपभोग्य वस्तुको मूल्य आकाशिन्छ। 

विश्व खाद्य तथा कृषि संगठनका अनुसार, यो वर्ष सुक्खापनका कारण अमेरिका र अर्जेन्टिनामा तुलनात्मक रूपमा कम तेलहन उत्पादन भएको छ। त्यस्तै, कोरोनाभाइरस महामारी र धेरै मुलुकमा रहेको बन्दाबन्दीका कारण आपूर्तिमा समस्या भएकाले अन्तर्राष्ट्रिय बजारमा खाने तेलको भाउ बढ्न सघाएको छ। मलेसिया, इन्डोनेसिया लगायत खाने तेल धेरै उत्पादन गर्ने देशले बढाएको निकासी करले पनि मूल्य बढाएको छ। 

Recent Comments

No comments to show.