जनकपुरधाम । महोत्तरीमा घाँस काट्न गएका ८ जना किशोरी र बालिकाहरू बेपत्ता भएका छन् ।
जिल्लाको भंगहा नगरपालिका-८ स्थित धर्मपुर टोलका ८ जना बालिका किशोरीहरु मंगलबारदेखि बेपत्ता भएका हुन् ।
बेपत्ता हुनेहरूमा १० वर्षीया रंजना पासवान, १० वर्षीया सीमा पासवान, १० वर्षीया रचना पासवान, १३ वर्षीया ज्योति पासवान, १५ वर्षीया रिया पासवान, १५ वर्षीया अर्चना पासवान, १८ वर्षीया अस्मिता पासवान र १८ वर्षीया नगिना पासवान रहेका छन् ।
भंगाहा नगरपालिकाका मेयर सञ्जीव कुमार साहले मंगलबार दिउँसो करिब ४ बजे सँगै घाँस काट्न निस्केका उनीहरू राति साढे १० बजेसम्म समेत घर नफर्केको जानकारी दिएका छन् । उनीहरू सबैजना एउटै टोलका रहेको मेयर साहले बताए ।
घरबाट करिब एक किलोमिटरको दूरीमा रहेको पूर्वतर्फको चौरमा उनीहरूलाई स्थानीयले दिउँसो घाँस काट्दै गरेको अवस्थामा देखेका थिए ।
मेयर साहले भने, ‘उनीहरू सबैजना प्राय: समूहमै घाँस काट्न चौरमा गएर साँझसम्म घर फर्किहाल्थे तर आज अहिलेसम्म कोहि घर फर्केका छैनन्।’
अहिले नेपाल प्रहरी, सशस्त्र प्रहरी र गाउँका करिब डेढ सय युवाहरु मिलेर उनीहरुको खोजी चारैतर्फ गरिरहेका छन् । एकैपटक ८ जना बालिका र किशोरीहरु बेपत्ता भएपछि गाउँमा त्रास फैलिएको छ ।
प्रतिक्रिया