काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली पक्षीय नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय सदस्य तथा उपप्रधानमन्त्री ईश्वर पोखरेलले निर्वाचन आयोगले गरेको निर्णय स्वागतयोग्य रहेको बताएका छन् ।
माघ २३ गते पार्टीका तर्फबाट आयोजना गर्न लागिएको जनसभाबारे जानकारी दिने उद्देश्यले पार्टी कार्यालय धुम्बाराहीमा सोमवार आयोजित पत्रकार सम्मेलनमा उनले निर्वाचन आयोगले गरेको निर्णयबाट आफूहरूले लिएको अडानलाई बल पुग्ने बताए ।
उनले भने, ‘हामीले निर्वाचन आयोगले गरेको निर्णयलाई स्वागत गरेका छौं ।’ उपप्रधानमन्त्री पोखरेलले अराजकता चाहनेले पार्टी फुटाउन खोजेको बताउँदै आफूहरूले कसैलाई कारबाही नगरेको बताए ।
उनले निर्वाचन आयोगको निर्णयले प्रचण्ड–नेपाल समूहले गरेको निर्णयलाई गतल साबित गरेको बताए । पोखरेलले कात्तिक २८ गते प्रचण्डले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई लगाएको आरोपपत्र फिर्ता र घोषित निर्वाचनमा भाग लिने भए तत्कालका लागि नेकपामा भएको विवाद समाधान हुने बताए ।
पछिल्लो राजनीतिक परिस्थितिबारे जनतालाई वास्तविक जानकारी दिने उद्देश्यले नेकपा बागमती प्रदेश संगठन कमिटीले माघ २३ गते काठमाडौंमा जनसभा आयोजना गर्दैछ । पार्टीको ताजा धारणा सार्वजनिक गर्न काठमाडौंंमा जनसभा गर्न लागिएको हो ।
प्रदेश संगठन कमिटीका अध्यक्ष आनन्दप्रसाद पोखरेलले माघ २३ गते जनसभा गर्न पार्टी नेता कृष्णगोपाल श्रेष्ठको संयोजकत्वमा १ हजार १११ सदस्यीय जनसभा परिचालन कमिटी गठन गरिएको बताए ।
पत्रकार सम्मेलनमा संयोजक श्रेष्ठले माघ २३ गते ठूलो संख्यामा काठमाडौंको जनसभामा सहभागिता हुने बताए । उनले सभ्य र व्यवस्थित जनसभा गरेर देखाइने बताए । उनले फोहोर व्यवस्थापन, मर्यादित नारादेखि व्यवस्थित जनसभा गर्न २ हजार कार्यकर्ता खटिने योजना सुनाए ।
स्वयंसेवक व्यवस्थापनको नेतृत्व युवा संघका पूर्व केन्द्रीय अध्यक्ष महेश बस्नेतले गर्नेछन् । सो कमिटीमा माधव ढुंगेल, रमेश सिलवाल, रमेश पौडेल, ऐन महर, ओमकृष्ण प्रसाईलाई जिम्मेवारी तोकिएको छ ।
जनसभा सम्पन्न गराउन बागमती प्रदेश अन्तर्गतका नेकपाका केन्द्रीय सदस्य, राष्ट्रिय सभाका सदस्य, विघटित प्रतिनिधि सभाका सदस्य, प्रदेशसभा सदस्य, प्रदेश संगठन कमिटीका सदस्य, जिल्ला कमिटीका अध्यक्ष तथा सचिव सदस्य रहने जनाइएको छ ।
जनसभामा बागमती प्रदेशका १३ जिल्ला र विशेष प्रदेश कमिटीका ४ गरी १७ जिल्लाका नेता तथा कार्यकर्ताको नेतृत्वमा व्यापक जनपरिचालन गरिने संयोजक पोखरेलले बताए । विशेष प्रदेशका १७ जिल्लामा माघ १४ भित्र ५०१ सदस्यीय जनसभा परिचालन कमिटी, माघ १७ भित्र सबै पालिकामा ३०१ सदस्यीय र वडा स्तरमा १०१ सदस्यीय जनसभा परिचालन कमिटी गठन गरिनेछ ।
जनसभाअघि माघ २१ गते मोटरसाइकल र्याली आयोजना गरिने जनाइएको छ । सो र्यालीमा १० हजार सहभागी हुने दाबी गरिएको छ । गोरखापत्र दैनिकमा खबर छ ।
प्रतिक्रिया