१८औँ गभर्नरमा नियुक्त विश्व पौडेल : सेयर लगानीकर्ताको संरक्षण र सुपरिवेक्षण मजबूती प्राथमिकतामा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । नेपाली अर्थतन्त्रमा निर्णायक भूमिका खेल्ने केन्द्रीय बैंक नेपाल राष्ट्र बैंक को बागडोर अब डा. विश्व पौडेलले सम्हाल्ने भएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले पौडेललाई मुलुकको १८औँ गर्भनरका रूपमा नियुक्त गरेको हो।

नयाँ गभर्नरका रूपमा आफ्नो दृष्टिकोण सार्वजनिक गर्दै डा. पौडेलले सेयर बजारमा संलग्न लाखौं लगानीकर्ताको विश्वास र हितलाई केन्द्रमा राखेर काम गर्ने प्रतिबद्धता जनाएका छन्। उनले विशेषगरी बैंक तथा वित्तीय संस्थाको सुपरिवेक्षण क्षमता वृद्धि, नियमन प्रणालीको लचकता र जवाफदेही प्रणाली विकासलाई प्रमुख प्राथमिकता बनाउने स्पष्ट पारे।

“कम नियम, बलियो सुपरिवेक्षण — यही सिद्धान्तबाट अघि बढ्नेछु,” उनले भने, “अर्थतन्त्रलाई चलायमान बनाउन नियामक संयन्त्र सक्षम र पारदर्शी बनाउनुपर्छ।”

गभर्नर पदका लागि गठित तीन सदस्यीय सिफारिस समितिले डा. पौडेल, कार्यवाहक गभर्नर निलम ढुंगाना, र पूर्वसचिव दिनेश भट्टराईको नाम सिफारिस गरेको थियो। समितिको संयोजक अर्थमन्त्री विष्णुप्रसाद पौडेल थिए। डा. पौडेललाई पहिलो प्राथमिकतामा राख्दै सिफारिस गरिएको थियो।

अर्थनीति निर्माणदेखि कार्यान्वयनसम्मको अनुभव बोकेको व्यक्तिका रूपमा चिनिने डा. पौडेल यसअघि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष रहिसकेका छन्। गभर्नर सिफारिस समितिमा सदस्य रहेका बेला सम्भावित नियुक्तिको चर्चा चलेपछि उनले नैतिकताका आधारमा पदबाट राजीनामा दिएका थिए।

श्रम, स्रोत व्यवस्थापन र आर्थिक इतिहासका क्षेत्रमा गहिरो अध्ययन गरेका डा. पौडेलले क्यालिफोर्निया विश्वविद्यालय, बर्कलीबाट पीएचडी गरेका हुन्। उनी अन्तर्राष्ट्रिय श्रम संगठनमा आर्थिक सल्लाहकार, नेपाल मिलेनियम च्यालेन्ज एकाइमा अर्थशास्त्री, तथा सानिमा बैंकको सञ्चालक समितिमा नीति निर्माणकर्ताका रूपमा समेत संलग्न रहिसकेका छन्।

नेपाल उद्योग परिसंघअन्तर्गतको थिंक ट्यांकमा समेत उनी सक्रिय थिए।

डा. पौडेलको नियुक्तिसँगै राष्ट्र बैंकमा अनुसन्धानदृष्टि, सुधारोन्मुख सोच र अन्तर्राष्ट्रिय अनुभवको समावेश हुनेछ, जसले वर्तमान आर्थिक चुनौतीहरू सामना गर्न बलियो आधार प्रदान गर्नेछ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।