काठमाडौ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एशोसिएसन (NAIMA) ले “Empowering Growth through Mobility” भन्ने सन्देशसहित आयोजना गर्न लागेको नेपाल मोबिलिटी एक्स्पो २०२५ का लागि स्टल बुकिङ बन्द भएको छ। यही साउन २१ देखि २५ गतेसम्म (अगस्ट ६–१०, २०२५) काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने एक्स्पोका लागि उपलब्ध ४४ स्टलका लागि ४८ वटा आवेदन प्राप्त भएपछि आयोजकले थप स्टलको व्यवस्था गर्नुपरेको जानकारी दिएको छ।
NAIMA की अध्यक्ष ऋतु सिंह वैद्यका अनुसार, यो एक्स्पो नेपालका मोबिलिटी क्षेत्रमा क्रान्तिकारी सोच र नयाँ दृष्टिकोण प्रस्तुत गर्नेछ। उनले यो कार्यक्रम आगन्तुक र प्रदर्शक दुवैका लागि नयाँ अनुभव दिने अवसर हुने विश्वास व्यक्त गरिन्। मोबिलिटी क्षेत्रको साझा आवाज, रणनीतिक सहकार्य र समग्र विकासका लागि क्रियाशील NAIMA ले पहिलोपटक आयोजना गर्न लागेको यो एक्स्पोलाई ऐतिहासिक आयोजनाको रूपमा लिइएको छ।
एक्स्पोमा चारपांग्रे, दुईपांग्रे र व्यावसायिक सवारीसाधन उत्पादन तथा आयातमा संलग्न ५० भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्रान्डहरू सहभागी हुनेछन्। चारपांग्रे सवारीसाधनतर्फ BYD, Citroen, Hyundai, KIA, Nissan, Toyota, Volkswagen, Mahindra, Mitsubishi, MG, Renault लगायतका ब्रान्डहरूको उपस्थिति रहनेछ। दुईपांग्रे सवारीसाधनमा Bajaj, Honda, TVS, KTM, Royal Enfield, Suzuki, NIU, Ather, Gogoro जस्ता लोकप्रिय ब्रान्डहरू सहभागी हुनेछन्। यस्तै, व्यावसायिक सवारीसाधन उत्पादन तथा आपूर्ति गर्ने कम्पनीहरू Dongfeng, Chery Wanda, Kinglong, Karry, Sunlong लगायतले पनि आफ्नो उपस्थिति जनाउनेछन्।
नेपाल मोबिलिटी एक्स्पो २०२५ लाई नवप्रवर्तन, दिगोपन, तथा प्रविधिमा आधारित मोबिलिटी समाधानहरू प्रस्तुत गर्ने प्रमुख मञ्च को रूपमा हेर्ने गरिएको छ, जसले नेपालमा मोबिलिटी संस्कृतिको नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ।
Comment