काठमाडौँ । राजधानी काठमाडौँ भित्रिने प्रमुख नाका नागढुङ्गा–नौबिसे सडकखण्ड जेठ १० गतेदेखि २५ गतेसम्म दैनिक साढे चार घण्टा बन्द गरिने भएको छ।
सडक सुधार तथा विस्तार अन्तर्गत नागढुङ्गा–पिपलामोड सडक निर्माण कार्यका लागि यो सडक खण्ड बन्द गर्न लागिएको हो। निर्माण कार्य दिनको समयमा गर्नुपर्ने आवश्यकताका कारण काठमाडौंका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले काठमाडौँ र धादिङ जिल्ला प्रशासनसँगको समन्वयमा बिहान १०:३० बजेदेखि दिउँसो ३:०० बजेसम्म सवारी आवागमन बन्द गरिने जानकारी दिएका हुन्। यसअघि निर्माण कार्य रातिको समयमा भइरहेको थियो तर प्राविधिक कारणले अब दिउँसो नै काम गर्नुपर्ने अवस्था आएपछि यस्तो निर्णय गरिएको हो।
नारायणगढ–मुग्लिन सडक योजना (पूर्वी खण्ड)ले सूचना जारी गर्दै काठमाडौँबाट बाहिरिने सवारीसाधन नागढुङ्गामा र नौबिसेतर्फबाट भित्रिने सवारीसाधन खानीखोलामा रोकिने जनाएको छ। बन्द अवधिमा यात्रु तथा चालकहरूलाई धार्के–सितापाइला मार्ग वा टोखा–छहरे–त्रिशूली–गल्छी वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरिएको छ।
साथै, अत्यावश्यक सेवाका सवारी साधनहरूका लागि प्रशासनले विशेष व्यवस्था मिलाउने बताइएको छ। यात्रुहरूलाई यस अवधिमा यात्रा योजना बनाउँदा बन्द समयको ख्याल गर्न प्रशासनले आग्रह गरेको छ।
Comment