काठमाडौं । शंकास्पद कारोबार तथा गतिविधिमा उल्लेख्य वृद्धि भएको नेपाल राष्ट्र बैंकले जनाएको छ।
वित्तीय जानकारी इकाई (एफआईयू नेपाल) का अनुसार, सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण ऐन, २०६४ बमोजिम सूचक संस्थाहरूबाट प्राप्त शंकास्पद कारोबार प्रतिवेदन (एसटीआर) को सङ्ख्या सन् २०२४ मा ९ हजार ३०४ पुगेको छ, जुन सन् २०२३ को ६ हजार २५५ को तुलनामा करिब ४९ प्रतिशतले वृद्धि भएको हो।
एफआईयू नेपालले सन् २०२४ मा प्राप्त १ हजार ८९४ प्रतिवेदनमध्ये १ हजार ८६ वटा प्रतिवेदनलाई थप अनुसन्धान तथा नियामकीय कारबाहीका लागि सम्बन्धित निकायमा पठाएको जनाएको छ। बाँकी ८०८ वटा प्रतिवेदन भविष्यमा थप जानकारी प्राप्त भएमा पुनः विश्लेषण गर्ने गरी अभिलेखीकरण गरिएको छ।
त्यस्तै, सन् २०२४ मा सूचक संस्थाहरूले इकाईमा पेश गरेका सीमा कारोबार विवरण (Threshold Transaction Reports – TTR) को सङ्ख्या पनि बढ्दै १९ लाख ७२ हजार ८५५ पुगेको छ, जुन सन् २०२३ मा १७ लाख ८३ हजार १८३ थियो।
एफआईयूको गोएएमएल प्रणालीमा आबद्ध सूचक संस्थाहरू, अनुसन्धान तथा नियामक निकायहरूको सङ्ख्या पनि बढेको छ। सन् २०२३ को अन्त्यमा १ हजार ४९६ संस्थाहरू आबद्ध रहेका थिए भने सन् २०२४ को अन्त्यमा यो संख्या १ हजार ९०५ पुगेको छ।
सम्पत्ति शुद्धीकरण र आतङ्ककारी कार्यमा वित्तीय लगानी नियन्त्रण गर्नका लागि एफआईयूले सूचक संस्थाहरू तथा सम्बन्धित निकायहरूसँग समन्वयात्मक रूपमा काम गरिरहेको जनाएको छ। तर, शंकास्पद कारोबारको तीव्र वृद्धिले देशको वित्तीय प्रणालीमा जोखिम बढ्दै गएको संकेत गरेको विज्ञहरूको भनाइ छ।
Comment